काठमाडौं । २५ वर्षीया ब्राजिलियन फुटबल खेलाडी रिचार्लिसन दि एन्ड्रेडको इन्स्टाग्राममा रातारात ४० लाख भन्दा बढि फलोअर बढेको छ । जारी विश्वकप फुटबलको गत बिहीबार सम्पन्न सर्बिया विरुद्धको खेलमा उनले गरेको गोलका कारण उनी एकाएक चर्चामा आएका हुन् । उक्त खेलमा रिचार्लिसनले ७३ औँ मिनेटमा 'बाइसाइकल किक' हानेर गरेको गोल अहिले इन्टरनेटमा छाएको छ ।
रिचार्लिसनका दुई गोल ब्राजिललाई जिताउन निर्णायक बनेको थियो । त्योभन्दा पनि विशेष चर्चा रिचार्लिसनलाई उनको बाइसाइकल किकले दियो । उनले बाइसाइकल किक गर्दै गोल हानेको तस्बिर भाइरल बन्दै गएपछि सामाजिक सञ्जालमा उनका फलोअर पनि बढेका छन् ।
यो खेल भन्दा अगाडि रिचार्लिसनको इन्स्टाग्राम अकाउन्टमा ८० लाख फलोअर थिए । अहिले उनको अकाउन्टमा फलोअर संख्या एक करोड ३० लाख नाघिसकेको छ र यो संख्या अझै बढ्ने क्रममा नै छ ।