काठमाडौं । प्रति घण्टा ४१२ किलोमिटर गुड्दै रिम्याक कम्पनीको विद्युतीय कार ‘नभेरा’ विश्वको सबै भन्दा उच्च गतिमा गुड्ने विद्युतीय कार बन्न सफल भएको छ । क्रोएसियाली निर्माता कम्पनी रिम्याकले यो कारको गतिको परिक्षण गत अक्टोबर महिनामा गरेको थियो ।
गत अक्टोबर २८ मा जर्मनीको अटोमोटिभ टेस्टिङ पेपनबर्ग ट्रयाकमा गरेको परिक्षणमा यो कारले ४१२ किलोमिटर प्रतिघण्टाको गतिमा गुडेर नयाँ रेकर्ड बनाउन सफल भएको हो ।
चार किलोमिटर लामो दुई ओटा सीधा ट्रयाक भएको अण्डा आकारको सर्किटमा उक्त परीक्षण गरिएको थियो ।
क्रोएसियामा बनेको यो गाडीको १,९१४ हर्सपावर जेनेरेट गर्छ भने यसले २,३६० एनएम टर्क पैदा गर्न सक्छ । यो गाडीमा चारओटा मोटर जडान गरिएको छ । गाडीमा भएको चारओटा पाङ्ग्रामा छुट्टाछुट्टै चार मोटर जडान गरिएको छ । कम्पनीले दुई सिट भएको यो कारको १५० थान उत्पादन गरेको छ ।
यो कारमा १२० किलोवाट आवर लिथियम निक्केल ब्याट्री जडान गरिएको छ । जसले एक पटकको सिंगल चार्जमा ५४७ किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।