काठमाडौं । जापानी प्रविधि कम्पनी सोनी ग्रुप कर्पले मानवरूपी रोबोट ल्याउने संकेत गरेको छ । कम्पनीले मङ्गलबार आफूसँग ह्युमोनिडइड रोबोट बनाउने प्रविधि भएको जानकारी दिएको हो ।
"प्रविधिको सन्दर्भमा विश्वका धेरै कम्पनीसँग कुन प्रयोगका लागि ह्युमोनोइड रोबोट आवश्यक छ भन्ने स्पष्ट भएपछि रोबोट छिटो बनाउन हामीसँग पर्याप्त प्रविधि जम्मा भएको छ, "सोनीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) हिरोआकी कितानोले एक अन्तर्वार्तामा रोयटर्सलाई भने ।
ह्युमोनोइड रोबोट मानिसका लागि आवश्यक रहेको खण्डमा उत्पादनका लागि लगानी गर्ने उनको भनाइ छ । सोनीले दुई दशकअघि एइबाे (Aibo) नामको रोबोट सार्वजनिक गरेको थियो ।
सन् १९९९ देखि २००६ मा कम्पनीले डेढ लाख थान रोबोट बिक्री गरेको थियो । यस्तै कम्पनीले सन् २०१८ मा त्यसको एड्भान्स भर्सन सार्वजनिक गरेको थियो । उक्त एड्भान्स रोबोट सार्वजनिक गरेको छ महिनामा कम्पनीले २० हजार थान बिक्री गर्न सफल भयाे ।
विश्व चर्चित कम्पनी होन्डा एक दशकदेखि नै ह्युमोनोइड रोबोटमा काम गरिरहेको छ । त्यस्तै हुन्डाई मोटर्सले गत सेप्टम्बर र एलन मस्कको कम्पनी टेस्लाले हालसालै ह्युमोनोइड रोबोटको प्रोटोटाइप सार्वजनिक गरेका थिए । मस्कको कम्पनी टेस्लाले फ्याक्ट्रीमा हजारौँ रोबोट प्रयोग गर्ने योजना बनाएको छ ।