close

एजेन्टमार्फत बेटिङ गर्नेलाई खोजीखोजी पक्राउ गर्छौं: प्रहरी

टेकपाना टेकपाना

पुस १, २०७९ १२:१९

एजेन्टमार्फत बेटिङ गर्नेलाई खोजीखोजी पक्राउ गर्छौं: प्रहरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा अब अन्तिम दुई खेल बाँकी छन् । यहीबीच संसारभर विभिन्न कुराले चर्चा पाए । नेपालमा भने विश्वकपले अनलाइन सट्टेबाजी गर्नेहरूको सङ्ख्या बढाइदियो ।

विभिन्न बेटिङ प्लेटफर्ममा अनुमान गरेर बाजी राख्ने युवा जमात सक्रिय हुन थालेकाे छ । प्रहरीले वनएक्स बेटमा क्रियाशील एजेन्ट र उनीहरूमार्फत बेटिङ गर्ने केही व्यक्तिलाई पक्राउ गरेपनि याे प्लेटफर्ममा सयाैंकाे संलग्नता रहेकाे प्रहरीकाे आशंका छ ।

हालै वनएक्स बेटको एजेन्टका रूपमा काम गर्ने दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । यसरी नै बेटिङमा सक्रिय अन्य व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको प्रहरी बताउँछ ।

टेकपानासँग कुरा गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका सूचना अधिकारी कृष्णप्रसार कोइरालाले भने,"अहिले वनएक्स बेट लगायतका अनलाइन बेटिङ साइटमा सट्टेबाजी गराउनेहरूको सङ्ख्या बढेकाे सूचना पाइरहेका छाैं । नेपालमा प्रतिबन्धित कार्य भएकाले यसमा संलग्न जाेकाेहीलाई विभिन्न माध्यमकाे सहयाेगमा खाेजीखाेजी पक्राउ गर्ने प्रयासमा जुटेका छाैं ।"

पक्राउ परेका एजेन्टबाट बरामद गरिएका मोबाइल तथा सिमकार्डबाट यसमा कुन-कुन व्यक्ति संलग्न छन् भन्ने कुरा पहिचान गर्न सकिने कोइरालाको भनाइ छ ।

"सिमकार्ड प्रयोग गरी खोलिएका विभिन्न वालेटमा गरिएको कारोबारबाट को को संलग्न छन् भन्ने कुरा पत्ता लाग्यो भने अनलाइन सट्टेबाजी गर्नेहरूलाई पहिचान गर्न सहज हुन्छ," उनले थपे, "पक्राउ परे भने उनीहरूमाथि  मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूर लाग्छ । यो एक प्रकारको जुवा भएकाले यसबाट नागरिक आफैं सचेत हुनुपर्ने कुरामा कोइरालाले जोड दिए । 

पछिल्लो अध्यावधिक: पुस १, २०७९ १२:१९