close

सबैले अर्जेन्ट ई-पासपोर्ट लिन खोज्दा समस्या भयोः विभाग

टेकपाना टेकपाना

पुस ४, २०७९ १७:२८

सबैले अर्जेन्ट ई-पासपोर्ट लिन खोज्दा समस्या भयोः विभाग

काठमाडौं । सेवाग्राहीको अत्यधिक भिड हुने सरकारी कार्यालयमध्ये एक हो, त्रिपुरेश्वरस्थित राहदानी विभाग । गत वर्षको मंसिरदेखि विद्युतीय राहदानी कार्यान्वयनमा आएपछि यो विभाग वरपर दिनहुँ भीडभाड लागिरहन्छ । नयाँ राहदानी बनाउनेदेखि पुरानो राहदानी हराएकाहरुसम्म लाइनमा घण्टौंसम्म उभिन्छन् । अर्कोतर्फ सोधपुछ गर्नेहरुको जमात पनि थामिनसक्नु हुन्छ ।

कार्यालय समयभर सधैं विभागको गेटअगाडि र भित्र लाग्ने सेवाग्राहीको भीड व्यवस्थापन गर्न विभागका कर्मचारी र सुरक्षाकर्मीलाई हम्मेहम्मे पर्छ । अर्कोतर्फ राहदानीका लागि अनलाइन आवेदन दिन दिनभर प्रयास गरेपनि वेबसाइट नचलेर निराश हुनेको संख्या हजारौं छ ।

जिल्लाबाटै राहदानी आवेदन भर्नसक्ने व्यवस्था ल्याएपनि अधिकांश सेवाग्राही काठमाडौंमै आउनाले समस्या सिर्जना भएको राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादव बताउँछन् ।

''अधिकांश सेवाग्राही काठमाडौंमै आउन खोज्छन् । सबैले एकैपटक अनलाइन फर्म भर्न खोज्दा उच्च ट्राफिकका कारण वेबसाइटकाे सर्भरले थेग्न सक्दैन,'' उनी भन्छन्, तत्काल राहदानी चाहिनेहरूले मात्र विभागमा फारम भरून् भन्ने चाहना हाम्रो हो । तर सबै प्रकारका सेवाग्राही यहीँ (विभागमा) आएर चाँडै राहदानी बनाउन खोज्दा समस्या निम्तिरहेको छ ।''

राहदानीको  नियमित सेवा जिल्लाबाटै पाइने र अत्यावश्यक परेमात्र राहदानी विभाग विकल्पका रुपमा रहेको उनको भनाइ छ । ''तर सेवाग्राहीहरुले नबुझिँदा हामीलाई काम गर्न गार्‍हो भइरहेको छ,'' उनले भने ।

हाल विभागले हरेक दिन दुई हजारका लागि विहान ११ बजेदेखि अनलाइन कोटा प्रणालीमार्फत आवेदन दिनसक्ने व्यवस्था ल्याएको छ ।

''दैनिक दुई हजारले फर्म भर्न पाएकै छन् । हामीले आफ्नो जनशक्तिको क्षमता अनुसार उनीहरुलाई सेवा दिएकै छौं । त्यसबाहेक अतिआवश्यक परेकालाई प्राथमिकता दिएर चाँडो सेवा दिने गरेका छौं । तर बाहिर अनावश्यक होहल्ला र नाराबाजी हुँदा प्रभावकारी रुपमा काम गर्न अप्ठ्यारो भइरहेको छ,'' यादवले भने ।

अर्कोतर्फ धेरै सेवाग्राहीहरु साइबर र विचौलियाहरुको पछि लाग्दा पनि समस्या आएको उनले बताए । ''केही समस्या परे गेट नजिकै सोधपुछ कक्ष राखेका छौं । त्यहाँ निर्देशक मातहतको टिम छ । त्यहाँ गएर परामर्श लिन सकिन्छ । बाहिरका मान्छेहरुले भनेका कुरा पत्याएर हामीलाई गाली गर्नेहरुको जमात धेरै भो । यसले विभागकाे नियमित कार्यसम्पादनमै समस्या परिरहेकाे छ,'' उनले भने ।

विद्युतीय राहदानी सुरु गर्दा आवेदक आफैंले बायोमेट्रिक डेट बुक गर्न सकिने गरी सिस्टम बनाएपनि सेवाग्राहीको मागकै कारण तीन दिनभित्र राहदानी उपलब्ध गराउने गरी प्रतिदिन दुई हजारको कोटा प्रणाली ल्याइएको उनको भनाइ छ ।

''राहदानीको कामलाई अर्जेन्टमा राख्नुपर्छ भनेर नारा जुलुस गरियाे । संसदमा विषय उठाइयो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पनि कुरा उठ्यो । त्यसपछि हामी दैनिक कोटा प्रणालीमा जान बाध्य भएका हौं,'' कार्यालयमा राखिएकाे सिसीटिभीमा हेर्दै उनले प्रश्न गरे, ''तर यतिका मान्छेलाई कसरी राहदानी अर्जेन्ट पर्छ ? आज, भोलि, सधैं चार-चार हजार सम्मलाई नै अर्जेन्ट पर्छ त ?''

''तत्काल पासपोर्ट चाहिनेहरु, फ्लाइटअघि पासपोर्ट हराएमा वा अन्य अत्यावश्यक परेमा मात्र विभागमा आउनुहोस् भनेका हाैं । केही समयपछि चाहिने भए जिल्लाबाटै थोरै शुल्कमा राहदानी बनाउन सकिन्छ । तर सेवाग्राहीले नबुझिँदा एकातिर अनलाइन सिस्टममा समस्या आएको छ भने कार्यालय वरपर भीडभाड गर्दा हाम्रा कर्मचारीलाई भार परिरहेकाे छ,'' उनले थपे ।

आपतकालीन सेवाका लागि भनेर विभागमा सीमित जनशक्तिकाे व्यवस्था गरिएकाले दिनरात हुने भीडमा काम गर्न कर्मचारीलाई गार्‍हो भइरहेकाे उनकाे अनुभव छ । ''हाम्रो जनशक्ति 'लिमिट' हुन्छ । दिनरात त्यत्रो भीडमा काम गर्ने जनशक्ति र कर्मचारीको मानसिकता पनि हेरिदिनुपर्छ । जहिले सयौं मान्छेले घेरिएर काम गर्नुपर्छ । आफैं भन्नुस् कर्मचारीहरूको मानसिक स्वास्थ्य कस्तो होला ? एक दिन आउने सेवाग्राही यो भीड देख्दा आत्तिन्छन्, हामीलाई गाली गर्छन् । तर हाम्रा कर्मचारीले यो नियति सधैं झेलिरहेका छन् ।'' 

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ १७:५३