close

पेपाल माफियाः जसको राज छ प्रविधिको विश्वबजारमा

टेकपाना टेकपाना

पुस ११, २०७९ १०:३४

पेपाल माफियाः जसको राज छ प्रविधिको विश्वबजारमा

काठमाडौं । अहिलेको विश्वमा सामाजिक सञ्जालदेखि अटोमोबाइलसम्म र भेञ्चर क्यापिटलदेखि एरोस्पेससम्म एउटै समूहले राज गरिरहेका छ । जुन समूहका १४ जनाले १० बिलियन डलरका छुट्टा छुट्टै कम्पनी स्थापना गरेका छन् ।

यस्ता कम्पनीले विश्व बजार कब्जा गर्ने मात्र नभएर संसारलाई नै बदल्ने रणनीतिमा छन् । यो समूहको नाम हो, ‘पेपाल माफिया’ ।

‘माफिया’ शब्दको अर्थ हुन्छ कानून, राज्य व्यवस्थालाई हाँक दिने ठुलठुला अपराध कार्यमा संलग्न छद्‍म अपराधी समूह । तर, ‘पेपाल माफिया’को अर्थ भने फरक छ ।

आज हामी यही ‘पेपाल माफिया’ भनेको के हो ? यो समूहमा कोको छन् ? कसरी विश्वबजार कब्जा गरिरहेका छन् ? आदि विषयमा चर्चा गर्दैछौँ । 

यसको कथा सुरु हुन्छ सन् १९९८ बाट । जब पिटर थिल र म्याक्स लेवचिन (Max Levchin) ले मिलेर व्यक्ति व्यक्ति बीच भुक्तानी गर्न सकिने प्रविधिको विकास गर्न खोजिरहेका थिए ।

त्यस समयमा स्मार्टफोन नहुँदा मानिसहरूसँग नगद, चेक वा एटीएम कार्डको विकल्प थिएन । जसले गर्दा विभिन्न भुक्तानीका काम गर्न असहज भइरहेको थियो ।

अनलाइनबाट पनि भुक्तानी गर्न मिल्छ भन्ने कुरा कसैले कल्पना नै गर्न सकेका थिएनन् । त्यही समयमा पिटर थिल र म्याक्स लेवचिनले फिल्डलिङ्क नामक सफ्टवेयर कम्पनी स्थापना गरे । जो अहिले कन्फिनिटी नामले परिचित छ ।

‘पेपाल माफिया’मा पिटर थिल, रिड हफम्यान, लियुक नोसेक, जावेद करिम मुख्य सदस्य छन् । यस समूहमा बिर्सिनै नमिल्ने अर्को नाम हो, एलन मस्क । ‘पेपाल माफिया’का जति पनि फोटो प्रकाशित छन्, त्यहाँ एलन मस्क कहीँ कतै देखिँदैनन् । 

यता पिटर थिल कन्फिनिटी बनाउन लागिपरेका थिए । सबै कुरा राम्रै चलिरहेको थियो ।

त्यही समयमा अलि पर कोही यस्तो व्यक्ति थियो, जसको भिजन कन्फिनिटीभन्दा पनि ठूलो प्लेटफर्म बनाउने थियो । ती व्यक्ति थिए, एलन मस्क ।

उनले आफ्ना भाइ किम्बल मस्कसँग मिलेर बनाएको जिप टु कम्पनी २२ मिलियन डलरमा बिक्री गरे । त्यसपछि आफ्नो भागको पैसाले नयाँ कम्पनीको सुरुवात गर्न थाले ।

त्यो कम्पनीको नाम हो, एक्स डटकम । अर्थात् एउटा अनलाइन बैङ्क । पिटर थिल एक अनलाइन पेमेन्ट गेटवेको कम्पनी बनाउन खोजिरहेका थिए भने मस्क पूरापुर अनलाइन बैङ्क नै बनाउने दिशामा केन्द्रित थिए ।

एक्स डटकमको उदयसँगै कन्फिनिटी ‘बैङ्करप्ट’ (टाट पल्टिने) हुने अवस्थामा आयो । त्यसपछि पिटर थिलले कन्फिनिटीलाई एक्स डटकममा मिलाउन खोजे ।

एलन मस्कले तयार पारेको एक्स डटकमले पछि सन् १९९९ मा कम्फिनिटीलाई आफ्नो स्वामित्वमा लियो । त्यसपछि नयाँ कम्पनीको नाम रह्यो, 'पेपाल' । पेपाललाई सन् २००२ मा ईबेले १.५ अर्ब डलरमा खरिद गर्‍यो ।

पेपाल ईबेको स्वामित्वमा गएपछि त्यहाँ ईबेले बनाएका नीति लागू हुन थाले । पेपालका कर्मचारीले आफूलाई सहज हुने जेजस्ता रणनीतिहरू थिए, ईबेले ती सबै परिवर्तन गरिदियो ।

त्यही कुराले पेपालभित्र अनेकौँ समस्या सिर्जना हुन थाले । यही कारणले पेपलका पूर्व कर्मचारीहरू पेपाल छोड्न थाले । त्यसपछि सुरु हुन्छ, ‘पेपाल माफिया’को कथा ।

पेपाल छोड्ने ती १४ जनामा छ जना यस्ता व्यक्ति छन्, जो पछि गएर अर्बपति भए । ती छ जनाले तयार पारेका कम्पनी उनीहरूको सम्पत्तिभन्दा पनि मूल्यवान मानिन्छन् । यीनै छ जना अहिले सिलिकन भ्यालिको प्रमुख प्रविधि कम्पनीको मालिक बनेका छन् ।

पेपाल छोडेका ती व्यक्तिसँग सीप, कम्पनीलाई नेतृत्व दिन सक्ने क्षमता र पैसा थियो । जसको आडमा उनीहरू आफ्नो कम्पनी स्थापना गर्न सक्थे । एउटा कम्पनीलाई अर्बौँ डलरको कम्पनी बनाउन उनीहरूमा राम्रो अनुभव र उत्कृष्ट भिजन थियो ।

त्यही क्षमताको आडमा १४ जना व्यक्तिले आफ्ना छुट्‍टा छुट्‍टै कम्पनी बनाए । आफ्नो छुट्‍टै कम्पनी बनाउनुका साथै उनीहरूले एक अर्कालाई आवश्यक सहयोग पनि गरे ।

फोर्ब्स म्यागजिनले फिचर गर्नका लागि  पेपालका वर्तमान तथा केही उत्कृष्ट पूर्व कर्मचारी गरी १४ जनालाई आमन्त्रित गर्‍यो । उनीहरूलाई प्रबल रूपमा प्रस्तुत गर्न ‘माफिया’ शब्द छानियो ।

उनीहरूको ग्याङ्गस्टार लुक्सलाई लिएर सन् २००७ मा उनीहरूको फोटोको शीर्षक नै ‘पेपाल माफिया’ राखियो । त्यसपछि ‘पेपाल माफिया’ शब्दले थप चर्चा पाएको मानिन्छ ।

‘पेपाल माफिया’ मध्ये ककसले केके गर्दैछन् ?

‘पेपाल माफिया’भित्र पेपालका पूर्व तथा वर्तमान विभिन्न कर्मचारी तथा संस्थापक समावेश छन् । फोर्ब्सले उल्लेख गरेको फोटोमा समावेश १४ जनाको सूची यस प्रकार छ ।

१. एलन मस्क –जसले बनाएको एक्सडटकम पेपालमा रि-ब्रान्ड भयो । उनले पछि स्पेसएक्स स्थापना गरे, टेस्ला इन्कको एन्जल इन्भेस्टर बने, ओपन एआई स्थापना गरे, न्युरालिङ्क तथा द बोरिङ कम्पनी स्थापना गरे । मस्क अहिले ट्वीटरको मालिक समेत बनेका छन् ।

२. जावेद करिम – पेपालको पूर्व इन्जिनियर, जसले आफ्ना अन्य साथीसँग मिलेर युट्युब स्थापना गरे ।

३. जेरेमी स्टोप्पेलम्यान –पेपालको टेक्नोलोजीका उपाध्यक्ष जेरेमी एल्प कम्पनीका मालिक हुन् ।

४. एन्ड्रियू म्याक- पेपालका पूर्वकर्मचारी एन्ड्रियू वालार भेञ्चर (Valar Ventures) का सह-संस्थापक हुन् ।

५. प्रेमलाल शाह –पेपालका पूर्व प्रोडक्ट म्यानेजर शाह किवा डट ओआरजीका संस्थापक अध्यक्ष हुन् ।

६. ल्युक नोसेक –पेपालका पूर्व-सहसंस्थापक  नोसेक अहिले फाउन्डर्स फण्डमा पार्टनर छन् ।

७. केन ह्यारी -पेपाकलका पूर्व सीएफओ ह्यारी पनि फाउन्डर फण्डमा महत्त्वपूर्ण भूमिमा छन् ।

८. डेभिड व. स्याक्स– पेपालका पूर्व सीओओ स्याक्स जेनी डटकमका संस्थापक हुन् ।

९. पिटर थिल –पेपालका संस्थापक एवम् पूर्व सीईओ थिललाई ‘पेपाल माफिया’को डन उपनामले चिनिन्छ । उनले फाउन्डर फण्ड,

१०. वालार क्यापिटल- वालार भेञ्चर, प्लान्तिर टेक्नोलोजिज, कम्फिनिटी, ब्रेकआउट ल्याब्स, थाइल फेलोशिप, थाइल क्यापिटल म्यानेजमेन्ट जस्ता कम्पनी स्थापना गरेका छन् ।

११. किथ र्‍याबोइस –पेपालका पूर्व अधिकृत किथ अहिले सक्रिय रूपमा लिङ्डइनमा कार्यरत छन् । त्यसबाहेक पनि उनी पिटर थाइलले स्थापना गरेका धेरै कम्पनीमा सहकार्य गरिरहेका छन् ।

१२. रेड होफम्यान –पेपालका पूर्व उपसभापति होफम्यान लिङ्डइनका संस्थापक हुन् । उनी सुरुवाती दिनमा फेसबुकका लगानीकर्ता समेत थिए ।

१३. म्याक्स लेवचिन – म्याक्स पेपालका संस्थापक तथा सीटीओ हुन् ।

१४. रोइलफ बोथा – रोइलफ पेपालका पूर्व सीएफओ हुन् । उनले पेपाल छोडेपछि भेञ्चर क्यापिटल फर्म सेक्वेया क्यापिटलमा पार्टनर छन् ।

१५. रसेल सिमन्स – पेपालका पूर्व इन्जिनियर रसेल यल्प इन्कका संस्थापक हुन् ।

फोर्ब्सले सार्वजनिक गरेको फोटोमा एलन मस्कबाहेक अन्य व्यक्तिहरू समावेश छन् । विशेषगरी पेपालका १४ जनालाई ‘पेपाल माफिया’को नाम दिए पनि त्यसमा अन्य केही व्यक्तिहरू पनि जोडिन्छन् ।

‘पेपाल माफिया’को उक्त सामूहिक फोटोमा एलन मस्क किन देखा पर्दैनन् भन्ने धेरैको जिज्ञासा हुनसक्छ । फोर्ब्सका अनुसार मस्कलाई उक्त कार्यक्रममा निमन्त्रणा गरिएको भए पनि उनी विशेष कामले सहभागी हुन पाएनन् । त्यसैले उनको फोटो उक्त समूहमा देखिँदैन ।

पेपाल एउटा सानो कम्पनीलाई त्यहाँ कार्यरत विभिन्न व्यक्तिले आफ्नै तवरबाट चार वर्षको अवधिमा १.४ अर्ब डलर बराबरको कम्पनी बनाएका थिए ।

कडा परिश्रम, आफूमा दृढ संकल्प, सीपमा विश्वास र केही नयाँ गर्ने सोच भएका ‘पेपाल माफिया’को समूहले सिलिकन भ्यालिबाट हुर्किने अधिकांश स्टार्टअपलाई सहायता दिँदै आएका छन् । त्यसैले ‘पेपाल माफिया’ संसारभर परिचित बनेको शब्द हो ।

पछिल्लो अध्यावधिक: पुस ११, २०७९ १३:७