काठमाडौँ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहदानी र लाइसेन्स लिने क्रममा सर्वसाधारणले सास्ती खेपेको उल्लेख गर्दै लामा लाइन हटाउने प्रतिबद्धता जनाएका छन् ।
मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सेवाग्राहीकाे समस्या समाधान गर्ने आश्वासन दिए ।
"राहदानी, लाइसेन्ससम्बन्धी लामो लामो लाइन देखिएको छ," उनले भने, "यसलाई नियन्त्रण गर्ने र प्रभावकारी ढङ्गले काम गर्न केन्द्रित हुनेछौँ । जनताको समस्या समाधान गर्न काम गर्नेतर्फ काम गर्ने छौं," उनले भने ।
राहदानीकाे समस्या समाधान नहुँदा सेवाग्राहीले निकै सास्ती पाएका छन् । विशेषगरी अनलाइनमार्फत बायोमेट्रिक डेट लिन नै थुप्रै समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ । सरकारले सेवा सहज बनाउन अनलाइन प्रणाली ल्याए पनि उल्टै सेवाग्राहीले सास्ती भाेगिरहेका छन्, जसकाे फाइदा विचौलियाले उठाएका छन् ।