close

विदेशी रोबोटसँग भिड्दै नेपाली रोबोट

टेकपाना टेकपाना

माघ १६, २०७६ १७:५६

विदेशी रोबोटसँग भिड्दै नेपाली रोबोट

काठमाडौं । दशरथ रंगशालास्थित भलिबल कोर्टमा बिहिबार फरक शैलिको खेल देखियो । सधैं बिचमा टाँगिएको नेट अनी दुई साईडमा ६–६ जना खेलाडिले एउटा बलमा मुक्का हाँनिरहेको दृष्य हेर्न पुग्ने दर्शक आज फरक दृष्य देखिरहेका थिए ।

आज त्यहाँ कोही ग्रील मेसीन चलाइरहेका थिए त कोही आफ्नो प्राजेक्ट तयार गरिरहेका थिए । साना–साना बालबालिकाको हातमा उनीहरुले बनाएको गाडी र रोबोट देखिन्थ्यो । उनिहरु हौसिएका थिए । आफूले बनाएको प्रोजेक्ट सफल हुन्छ र अरुलाई पछि पार्न सक्छु भन्ने आत्मविश्वास सबैमा देखिन्थ्यो । त्यहाँ सधा झैं एउटा बल भने थियो, मैदानमा खेल्ने खेलाडीमा मान्छे थिएनन्, थिए रोबोट ।

कार्यक्रम थियो रोबोटिक्स एसोसियसन अफ नेपालले आयोजना गरेको यन्त्रको आठौं संस्करण । जसमा नेपालका रोबोटहरु अन्तर्राष्ट्रिय रोबोटसँग जुधिरहेका थिए । बिहीबारबाट सुरु भएको प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश र भुटानले सहभागिता जनाएका छन् ।

जसमा यन्त्र म्यानुअल अखडा, यन्त्र नेशनल लिग, यन्त्र अटोमिटक अखडा लगायतका प्रतियोगिता चलिरहेका छन् । नेपाल सहित ४ ओटा देशले तीनवटा प्रतियोगितामा भाग लिएका छन् । विद्यार्थीले बनाएका रोबोट एक अर्कासँग जुँध्दै कसरी अर्कोलाई पछार्ने भन्ने मै थियो । मान्छे–मान्छे बिचमा हुने लडाईं जस्तै त्यहाँ रोबोट-रोबोट बिचमा देखिन्थ्यो ।

अर्कोतर्फ मान्छेको ठाउँमा रोबोट फुटबल खेलिरहेका थिए । सामान्यतया मान्छेले खेल्ने फुटबलमा ११ जनाको टीम हुन्छ । तर, त्यहाँ तीन–तीन ओटो रोबोट थिए । एउटा गोल किपर एउटा डिफेन्डर र अर्को स्ट्राइकर । बल खोसेर गोल हान्नको लागि रोबोटहरु तँछाड मछाड गरिरहेका थिए । गोल भयो भने बाहिर बसेर चिच्याउँने चै मान्छे नै थिए । अनि जित रोबोटको भएतापनि खुसी मनाउने पनि मान्छे नै ।

यो कार्यक्रम शुक्रबार पनि जारी रहनेछ । शुक्रबार पनि रोबोटले फुटबल खेल्नेछन् । विदेशी रोबोटसँग नेपाली रोबोट भिड्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०