एजेन्सी । गुगलको सेवा प्रयोग गर्न रोक लगाएर अमेरिकाले चिनियाँ कम्पनी ह्वावे धराशायी बनाउने प्रयास गरेको थियो । तर विभिन्न तिकडम अपनाएर ह्वावेले २०१९ मा राम्रै व्यवसाय गर्न सफल भयो ।
अमेरिका फेरी ह्वावेलाई अर्को ठूलो धक्का दिने तयारीमा जुटेको छ । समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प प्रशासन एउटा नियमावली बनाउने तयारी गर्दैछ, जसले स्मार्टफोन चिपसेटमाथिको ह्वावेको पहुँचलाई रोक्नेछ ।
ट्रम्प प्रशासनले ल्याएको उक्त नयाँ प्रस्तावले ताइवानको चिपसेट निर्माणता कम्पनी टीएसएमसीमा ह्वावेको पहुँच रोक्का गर्नेछ । टीएसएमसी ह्वावेका लागि एकमात्र चिप आपूर्तिकर्ता कम्पनी हो ।
प्रस्तावमार्फत अमेरिकाले चिप निर्माणका लागि आफ्नो उपकण प्रयोग गर्ने कम्पनीहरुलाई ह्वावेलाई चिपसेट आपूर्ति गर्नु अघि अमेरिकाबाट लाइसेन्स लिनुपर्ने बाध्यकारी व्यवस्था गर्नेछ । यसको आधारमा वासिङटनले लाइसेन्सका लागि शर्त राख्ने छ । नमानेको खण्डमा लाइसेन्स जारी गर्ने छैन ।
रोयटर्सका अनुसार अमेरिकी प्रशासनले खोजी गरिरहेको विभिन्न उपायमध्ये यो पनि एउटा हो । यसबारे उच्चस्तरिय वार्ताहरुमा कुराकानी भएको थियो भने आगामी दिनमा पनि कुराकानी हुने बताइएको छ ।
उक्त चिपसेटको प्रस्तावको मस्यौदा तयार भइसकेको छ । यद्यपी यसको स्वीकृतिको विषय भने टुंगिन बाँकी छ । अमेरिकी वित्त मन्त्रालयले यस विषयमा कुनै पनि किसिमको प्रतिक्रिया दिन अस्विकार गरेको छ । यस्तै ह्वावे र टीएसएमसीबाट पनि यसबारे कुनै आधिकारिक धारणा आएको छैन ।
चिपसेटको पहुँच रोकिने वा सप्लाई चेन भंग हुने अवस्थामा हुवावेलाई ठूलो धक्का पुग्नेछ । सम्भवतः गुगलको सेवा बन्द हुँदा भन्दा पनि यसबाट ह्वावेलाई ठूलो धक्का लाग्ने छ । किनभने विश्वभरका अधिकांश चिपसेट निर्माणकर्ता कम्पनीहरुले अमेरिकी उपकरणको प्रयोग गर्दै आएका छन् । अमेरिकाको यो प्रस्ताव कार्यन्वयनमा आएको खण्डमा यसले हुवावेको व्यवसायमा ठूलो धक्का पुग्ने विश्लेषकहरु बताउँछन् ।