close

नेपालको इन्टरनेटले लकडाउन थेग्न सक्ला ?

टेकपाना टेकपाना

चैत १८, २०७६ ११:१०

नेपालको इन्टरनेटले लकडाउन थेग्न सक्ला ?

काठमाडौं । मुलुक सम्पुर्ण रुपमा लकडाउन भएको एक साताभन्दा बढी भइसक्यो । मानिसहरु घरबाट बाहिर निस्किन पाइरहेका छैनन् ।

घरमा बस्दा समय बिताउने सबैभन्दा उपयुक्त माध्यम इन्टरनेट नै भएको छ । त्यसैले पछिल्लो ८ दिनमा नेपालमा यस अघिका दिनको तुलनामा युट्युव धेरै हेरिएको छ ।

फेसबुकमा पनि भिडियो कन्टेन्ट निकै हेरिन थालेका छन् । नेटफ्लिक्स हेर्नेको संख्या ह्वातै बढेको छ । नेपालमा मात्रै नभएर विश्व परिवेशमै यस्तै अवस्था छ ।

कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्न मानिस घरमा बसिरहेका छन् । घरबाटै अफिसको काम गर्नेदेखि समय बिताउने सबै प्रयोजनको माध्यम इन्टरनेट नै बनेको छ ।

भिडियो कन्फ्रेन्समार्फत अफिस धानिएका छन् । यसको सोझो असर इन्टरनेटको खपतमा परेको छ । अहिलेको समयमा इन्टरनेट नेटवर्कमा निकै धेरै भार परेको सेवाप्रदायकहरुले बताउँदै आएका छन् ।

जसको प्रतिफल भिडियो प्ल्याटफर्म युट्युव, नेटफ्लिक्स लगायतले आफ्नो भिडियो क्वालीटी नै घटाएका छन् ।

घरमा बसेर इन्टरनेट प्रयोग गर्ने हामी आफैले पनि महसुस गरिहेका छौं, इन्टरनेट स्लो भएको छ । युट्युव नै नचल्ने जस्ता समस्याहरु कतिपय प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

तर, यस्तो अवस्थामा इन्टरनेट स्लो भएको गुनासो गर्ने भन्दा पनि सबै प्रयोगकर्ताले संयमता अपनाउनुपर्ने भएको छ ।

नेपालको परिवेशमा इन्टरनेट सेवा प्रदायक र टेलिकम कम्पनीसँग कूल क्षमता चार सय जीबीपीएस मात्रै रहेको इन्टरनेट सेवा प्रदायक संघका पूर्व अध्यक्ष तथा भायनेट कम्युनिकेशन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक बिनय बोहरा बताउँछन् ।

उनी भन्छन्, ‘त्यसमा ७० प्रतिशत इन्टरनेट सेवा प्रदायकको छ भने ३० प्रतिशत हिस्सा टेलिफोन सेवा प्रदायकको रहेको छ । तर हालको अवस्थामा भने इन्टरनेटको खपत पाँच सय जीबीपीएससम्म पुगेको छ ।’

अहिले नेपालमा इन्टरनेशनल ब्याण्डविथको खपत ३० प्रतिशतले बढेको छ । नेशनल ब्याण्डविथ त झन् शत प्रतिशत वृद्धि भएको सेवाप्रादायकहरुको भनाई छ ।

बोहरा भन्छन्, ‘लकडाउन सुरु भइसकेको अवस्थामा यो स्थिति भएकाले अबको दिनमा पनि निरन्तर चलिरहन्छ भन्ने हो । अहिलेसम्म जेनतेन धानिएको छ । यदि खपत यो भन्दा बढ्दै जाने हो भने त इन्टरनेसेवा प्रदायकले धान्न सक्ने अवस्था नहुन सक्छ ।’

पहिले पिक आवर र वर्किङ आवर भनेर इन्टरनेटको व्यवस्थापन गर्ने सेवा प्रदायकलाई यो समय अत्यास लागिसकेको छ । पहिले बेलुका ८ बजे देखी ११ बजेसम्ममात्रै इन्टरनेटको खपत बढी हुने गर्दथ्यो ।

अहिले त २४ सै घण्टा पिक आवर । दिनमा इन्टरनेटको खपत अत्याधिक छ । रातको समयमा पनि उस्तै छ ।

‘यो समयमा थप ब्याण्डविथ किनेर ल्याउने स्थिति पनि छैन,’ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्ट भन्छन्, ‘किन भने सबैतिर ब्याण्डविथको माग बढेको छ । जोसँग खरिद गर्ने हो उसैले ब्याण्डविथ दिन नसक्ने अवस्था पैदा भएको छ ।’

अर्कोतर्फ मोबाइल डाटाको माग पनि त्यसैगरी बढेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार। अहिले डेटाको प्रयोग ४०–५० प्रतिशतले वृद्धि भएको छ ।

‘प्याक खरीद गर्नेको संख्या ३०–४० प्रतिशतले वृद्धि भएको छ । तर पनि मोबाइल इन्टरनेटमा भने त्यस्तो समस्या देखिएको छैन,’ उनी भन्छन्, ‘हाम्रो सिस्टमले अझैपनि धान्न सक्ने अवस्था छ । त्यस अनुसारको सिस्टम क्षमता हामीले तयार पारेका छौं ।

टेलिकमले गूगल र फेसबुकको क्यास सर्भर राखेको छ । अर्को आकामाई पनि छ । आकामाई अर्थात साधारण ट्राफिक अनि टिकटकको ।

अधिकारी भन्छन्, ‘हामीले यस्तो अवस्था आउनु केही दिन अघिमात्रै गूगल र फेसबुकको क्यास सर्भरको क्षमता बढाएका थियौं । जसले गर्दा टेलिकमलाई कुनै समस्या परेको छैन । यदि समस्या पर्‍यो भने पनि तत्कालै क्षमता थप गर्ने विकल्प हामीसँग छ ।’

एनसेलले पनि आफ्नो इन्टरनेटको प्रयोगमा ३०–४० प्रतिशत भन्दा धेरै वृद्धि देखिएको जनाएको छ ।अधिकारीका अनुसार मोबाइल तथा टेलिफोन कलमा भने त्यस्तो कुनै भार परेको छैन । तर, डाटा प्रयोग भने दिउसोको समयमा पनि अत्याधिक बढेको छ ।

सामान्यतया मोबाइल डेटा बिहान र बेलुका खपत हुने गर्दछ । तर अहिले दिउँसोको समयमै भारी मात्रामा खपत भइरहेको अधिकारी बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१