close

बाबुराम भट्टराई अन्तर्वार्ता प्रकरणपछि रेडियो नेपालका कार्यकारी निर्देशक बर्खास्तको तयारी

टेकपाना टेकपाना

बैशाख १६, २०७७ १५:२०

बाबुराम भट्टराई अन्तर्वार्ता प्रकरणपछि रेडियो नेपालका कार्यकारी निर्देशक बर्खास्तको तयारी

काठमाडौं । बुधबार बाबुराम भट्टराईको अन्तर्वार्ता प्रसारण भएपछि सरकारले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई हटाउने तयारी गरेको छ । गत चैतमा मन्त्रिपरिषदले गरेको निर्णयको हवाला दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्कीसँग स्पष्टीकरण मागेका हुन् ।

बुधबार बिहान रेडियो नेपालबाट प्रसारण भएको लाइभ अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भष्मासुर र निरंकुश बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका थिए । बुधबार नै कार्यकारी निर्देशक कार्कीले बाबुराम भट्टराईबाट व्यक्त विचार र भाषाप्रति विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका थिए ।

‘अब उपरान्त रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने प्रतिवद्धता व्यक्त गर्दछौँ,’ कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

बाबुराम भट्टराईको अन्तर्वार्ता प्रसारण भएपछि रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले जारी गरेको विज्ञप्ति

रेडियो नेपालबाट प्रसारित बाबुराम भट्टराईको अन्तर्वार्ता हटाइएको र आगामी दिनमा अन्तर्वार्ताका लागि व्यक्ति छनौट गर्दा अनिवार्य अनुमति लिनुपर्ने वक्तव्य जारी भएसँगै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ ।

रेडियो नेपालबाट प्रसारित उक्त अन्तर्वार्ताको सन्दर्भमा बुधबार नै मन्त्रालयबाट सहसचिव राधिका अर्यालको नामबाट कार्कीसँग स्पष्टीकरण मागिएको थियो । लगत्तै अर्को स्पष्टीकरण सोध्नुको पछाडि कार्यकारी निर्देशक पदबाट कार्कीलाई पदबाट बर्खास्त गर्ने तयारीको अर्थमा बुझिएको छ ।

सुरेशकुमार कार्कीलाई स्पष्टिकरण सोधिएको पत्र

तर बिहीबार कार्कीको नाममा जारी गरिएको स्पष्टीकरण पत्रमा कार्यसम्पादन सम्झौता अनुसार सूचकांकहरुमा प्रगति नभएको, रेडियो नेपालको समग्र वार्षिक कार्यक्रम सम्पन्न गर्न नसकेको, खुमलटार स्थित रेडियो नेपालको जग्गा मनोमानी किसिमले भाडामा दिएको लगायतका विषयहरु उठाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३