close

प्रयोगकर्ताको कुनैपनि डेटा संकलन गरेका छैनौंः हाम्रो कीबोर्ड

टेकपाना टेकपाना

जेठ १, २०७७ १८:८

प्रयोगकर्ताको कुनैपनि डेटा संकलन गरेका छैनौंः हाम्रो कीबोर्ड

काठमाडाैं । हाम्रो कीबोर्डले आफूले प्रयोगकर्ताहरुको संवेदनशील तथा गोप्य जानकारीहरु संकलन नगरेको बताएको छ । हाम्रो पात्रोका सीईओ तथा संस्थापक शंकर उप्रेतीले एक सूचना जारी गर्दै प्रयोगकर्ताहरुको क्रेडिट कार्ड नम्बर तथा पासवर्ड लगायत जानकारीहरु संकलन तथा स्टोर गर्ने जस्ता गतिविधिहरु हाम्रो कीबोर्डले नगरेको स्पष्ट पारेका हुन् ।

हाल अमेरिकामा रहेका उप्रेतीले एपले प्रयोगकर्ताहरुको डेटा सुरक्षा तथा गोपनीयताको उच्च सम्मान गर्दै आएको बताए । ‘हाम्रो कीबोर्डका प्रयोगकर्ताहरुकहाँ आउने चेतावनीको नोटिफिकेसन गूगलको स्ट्याण्डर्ड वार्निङ म्यासेज हो,’ उनले भने ।

त्यस्ता वार्निङ म्यासेजहरु स्वीफ्ट की, गूगल जीबोर्ड जस्ता थर्ड पार्टी कीबोर्ड एप्समा समेत आउने गरेको उनको भनाई छ । 

‘हाम्रो कीबोर्ड आधिकारिक गूगल प्ले स्टोरबाट रिलिज भएको हो । यसको आफ्नै डेटा गोपनीयता र सुरक्षा सम्बन्धी कडा मापदण्डहरु छन्,’ उप्रेतीले भनेका छन्,

‘गूगल प्ले स्टोरले आफ्नो प्लेटफर्मबाट सार्वजनिक भएका सबै एपहरुमाथि निगरानी राख्छ । हामी हाम्रा प्रयोगकर्ताहरुलाई आधिकारिक प्ले स्टोरमा राखिएको एप मात्र डाउनलोड गर्न सुझाव दिन्छाैं ।’

हाम्रोपात्रोका संस्थापक शंकर उप्रेती

नेपाली ट्वीटर प्रयोगकर्ताहरुका लागि नेपाली किबोर्डको अभाव पुरा गर्ने उद्देश्यले सन् २०१४ मा हाम्रो कीबोर्ड एप सार्वजनिक भएको थियो । त्यस समय नेपाली टाइपिङका लागि हिन्दी कीबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । 

पछि हाम्रो पात्रोका संस्थापकहरुले ट्वीटर प्रयोगकर्ताहरुसँग सहकार्य गरी यो एप डेभलप गरेका थिए । समयक्रममा यो एपमा नेपाली स्टिकर, थिम्स र ई-कार्ड्सहरु पनि थप गरिएको थियो । ५० लाखभन्दा धेरै प्रयोगकर्ताहरु रहेको हाम्रो कीबोर्ड एप सीमित चर्चित नेपाली एपमध्येको एक हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१