काठमाडौं । ट्वीटरले आफ्नो पोस्टमाथि फ्याक्ट चेकिङ वार्निङ नोटिफिकेसन राखेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सामाजिक सञ्जाललाई बन्द गर्ने धम्की दिए । यसबीच बिहीबार ट्रम्पले सामाजिक सञ्जाल कम्पनीहरुमाथि नियन्त्रण गर्ने उद्देश्यले एउटा कार्यकारी निर्देनशमा हस्ताक्षर गर्दैछन् ।
बुधबार ट्रम्पले ट्वीटर तथा अन्य सामाजिक सञ्जालहरु बिना प्रमाण प्रतिशोधपूर्ण व्यवहारमा उत्रिएको आरोप लगाएका छन् । तर ट्रम्पसँग कम्पनीलाई बन्द गर्ने अधिकार छ वा छैन भन्ने कुरा हालसम्म स्पष्ट भएको छैन ।
यद्यपी ट्रम्पको त्यस्तो योजनाको समाचारलाई ट्वीटरले खारेज गरिदिएको छ । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले ट्रम्पको ट्वीटमा फ्याक्ट चेक गर्नु ट्वीटरको गल्ती भएको बताइसकेका छन् भने गूगलले यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन ।
अमेरिकन सिभिल लिबर्टीज युनियनका अनुसार अमेरिकी संविधानको पहिलो संसोधनले सामाजिक सञ्जाल प्लेटफर्मलाई नियमन गर्नका लागि राष्ट्रपतिले उठाउनसक्ने जुनसुकै कदमलाई रोक्न सक्छ ।
यसबीच बुधबार फेसबुक, गूगल तथा एप्पलले कन्जर्भेटिभ राजनीतिक दृष्टिकोणलाई दबाएको आरोप लगाउँदै अमेरिकाको दक्षिणपन्थी समूहले वासिङटन स्थित पुनरावेदन अदालतमा मूद्दा दायर गरेको थियो । तर उक्त मुद्दालाई तीन जना न्यायाधीसको बेञ्चले खारेज गरिदिएको छ ।
बुधबार ट्वीटरले ट्रम्पको पोस्टमा फ्याक्ट चेक वार्निङ नोटिफिकेसन राखेपछि पछिल्लो घटनाक्रम विकसित भएको हो । अमेरिकी प्रशासनबाट ठूला प्रविधि कम्पनीलाई आएको बन्द गर्ने भन्दै आएको यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो धम्की हो ।
ह्वाइट हाउसले गत वर्ष नै एन्टी कन्जर्भेटिभ बायस सम्बन्धी कार्यकारी निर्देनशको खाका प्रस्ताव गरेको थियो । तर यसमाथि हालसम्म कुनै पनि कदम अगाडि बढाइएको छैन ।
फेसबुक तथा ट्वीटर सदस्य रहेको इन्टरनेट सोसाइटीले अनलाइन प्लेटफर्महरुले कुनै पनि राजनीतिक प्रतिशोधपूर्ण धारणा नराख्ने र यसले सबैको कुरा सुन्ने बताएको छ । ट्वीटरमा ट्रम्पका आठ करोडभन्दा धेरै फलोअर छन् ।