close

गुगल मेसेजमा पनि अब पठाइसकेको मेसेज ‘अनसेन्ड’ गर्न सकिने

टेकपाना टेकपाना

बैशाख २६, २०८२ १५:१५

गुगल मेसेजमा पनि अब पठाइसकेको मेसेज ‘अनसेन्ड’ गर्न सकिने

काठमाडौँ । गुगलले आफ्नो मेसेजिङ एप ‘गुगल मेसेज’ मा प्रयोगकर्ताले लामो समयदेखि प्रतीक्षा गरिरहेको ‘डिलिट फर एभ्रिवन’ फिचर उपलब्ध गराउन थालेको छ । कम्पनीले शुक्रबारदेखि विश्वव्यापी रूपमा आरसीएस (रिच कम्युनिकेसन सर्भिसेज) मार्फत मेसेज पठाउने प्रयोगकर्ताका लागि यो फिचर विस्तार गर्न सुरु गरेको हो ।

यसअन्तर्गत अब पठाइसकेको मेसेज दुवैतर्फबाट हटाउन (अनसेन्ड) सकिन्छ । यो सुविधा अहिले आरसीएस च्याटमा विशेषगरी ग्रुप च्याटमा बेटा प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । कम्पनीले चाँडै नै यो सबै प्रयोगकर्ताका लागि खुला हुने संकेत दिएको छ ।

यस फिचरमा दुई प्रकारका डिलिट विकल्प छन्; डिलिट फर एभ्रिवन र डिलिट फर मी । च्याटमा सहभागी सबै प्रयोगकर्ताबाट मेसेज हटाउन डिलिट फर एभ्रिवन र आफ्नो डिभाइसबाट मात्र मेसेज हटाउन डिलिट फर मी अप्सन प्रयोग गर्नुपर्नेछ । 

एक रेडिट प्रयोगकर्ताले १२ जनाको आरसीएस ग्रुप च्याटमा यी अप्सनहरू देखिएको पुष्टि गरेका छन् । यद्यपि, उनले अन्य ग्रुप वा व्यक्तिगत च्याटमा भने यो सुविधा नदेखिएको उल्लेख गरेका छन् ।

हाल व्यक्तिगत च्याट (दुई प्रयोगकर्ताबिच) मा ‘डिलिट फर एभ्रिवन’ सुविधा उपलब्ध भइसकेको छैन । तर, प्रयोगकर्ताको अनुभव र सार्वजनिक रिपोर्टहरूलाई आधार मान्दा चाँडै नै व्यक्तिगत च्याटमा पनि यो फिचर सुरु हुने अनुमान गरिएको छ ।

एन्ड्रोइड अथोरिटीका अनुसार गुगल मेसेजको भर्सन ‘२०२५०१३१_०२_आरसी००’ को एपीके टियरडाउनमा यो फिचर पहिल्यै देखिएको थियो । मेसेज अनसेन्ड गर्दा गुगलले प्राप्तकर्ता प्रयोगकर्तालाई त्यसबारे सूचित गर्नसक्ने विश्वलेषण समेत गरिएको छ ।

गुगलले यो फिचर कहिले सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन्छ भनेर आधिकारिक घोषणा गरेको छैन । तर, लगातारको परीक्षण र प्रयोगकर्ताको पहुँच हेर्दा यो सुविधा छिट्टै सबैका लागि आउन सक्ने सम्भावना छ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १५:३८