close

पूर्वदेखि पश्चिमसम्म फाइबर बिछ्याउने काम सुस्त, चार प्रदेशमा सुरु नै भएन्

टेकपाना टेकपाना

असार ६, २०७७ १०:४६

पूर्वदेखि पश्चिमसम्म फाइबर बिछ्याउने काम सुस्त, चार प्रदेशमा सुरु नै भएन्

काठमाडौं । ९ अर्ब ८९ करोड रुपियाँ खर्चेर पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिममा दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउने परियोजना निकै धिमा गतिमा अघि बढेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर देशकै इन्टरनेट ब्याकबोनको रुपमा स्थापित गर्न खोजेको उक्त परियोजनामा लक्ष्य अनुरुपको प्रगति हासिल हुन नसकेको हो ।

प्राधिकरणले तीन ओटा प्याकेज अन्तर्गत सुरु गरेको उक्त परियोजना विभिन्न समस्यामा फस्दै गएको प्राधिकरण आफैले सार्वजनिक गरेको जेठ मसान्तसम्मको प्रगति विवरणमा देखिन्छ । प्राधिकरणले पहिलो पटक २०७३ असोज १२ गते नेपाल टेलिकमसँग प्याकेज एक अन्तर्गत प्रदेश १, ३ र बाग्मती प्रदेशमा २ हजार ८३ किलोमिटर फाइबर बिछ्याउने परियोजनामा सम्झौता गरेको थियो ।

प्राधिकरणको तथ्यांक अनुसार अहिलेसम्म उक्त प्याकेज अन्तर्गत जम्मा २ सय ५९ किलोमिटर मात्र अप्टिकल फाइबर बिछ्याइएको छ । यो परियोजनामा चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउने काम टेलिकमले पाएको हो ।

प्याकेज दुई अन्तर्गत गन्डकी र पाँच नम्बर प्रदेशमा दुई हजार १ सय ६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएको युनाइटेड टेलिकम(यूटीएल)ले अहिलेसम्म काम नै सुरु गरेको छैन । दुई बर्षभित्र उक्त काम सम्पन्न गर्नुपर्ने जिम्मा पाएको यूटीएलले तोकिएको समयमा काम नै सुरु नगरेपछि प्राधिकरणले सम्झौता खारेज गरेको थियो ।

उक्त खारेजी विरुद्ध अदालतमा मुद्धा दर्ता भएपछि अन्तिम निर्णयको प्रतिक्षामा प्राधिकरण छ । त्यस्तै प्याकेज तीन अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्ग मध्यपहाडी लोकमार्गमा एक हजार ९ सय ९२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम अहिलेसम्म सुरु भएको छैन ।

प्राधिकरणले सुरुमा प्रतिस्पर्धाको आधारमा स्मार्ट टेलिकमलाई उक्त परियोजना दिएपनि समयमै काम नगरेपछि सम्झौता खारेज गरेको थियो । पछि सरकारले निर्णय गर्दै उक्त परियोजना पनि टेलिकमलाई दिने निर्णय गरेको थियो । केही समय अघिमात्र उक्त सम्झौता सम्पन्न भएकोमा कोभिड १९ संक्रमणका कारण यो प्याकेजको काम अघि बढ्न सकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१