close

गूगल भन्छ, ‘अझै ११ प्रतिशत नेपाली घरभित्रै’

टेकपाना टेकपाना

असार १४, २०७७ १२:४६

गूगल भन्छ, ‘अझै ११ प्रतिशत नेपाली घरभित्रै’

काठमाडौं । गूगलले कोरोनाभाइरस (कोभिड–१९) का कारण समाजमा मानिसहरुको आवतजावत तथा गतिविधिमा कसरी परिवर्तन आइरहेको छ भन्ने विषयमा समय–समयमा प्रतिवेदन सार्वजनिक गरिरहेको छ । गत मंगलबारसम्मको अध्ययनका आधारमा गूगलले बिहीबार नयाँ ‘कम्युनिटी मोबिलिटी रिपोर्ट’ सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदन अनुसार नेपालीहरुको घरमा अझै चहलपहल सकिएको छैन । सामान्य अवस्थाको तुलनामा अझै ११ प्रतिशत नेपालीहरु घरभित्रै छन् ।

अन्य क्षेत्रमा हुने चहलपहल विस्तारै सामान्य बन्दै गएको छ । तर घरमा हुने चहलपहल अझैं बाँकी नै छ ।

गूगलले ‘गूगल म्याप’ मा आधारित रहेर मानिसको चहलपहल हुने क्षेत्रलाई विभिन्न ६ वर्गमा बाँडेर अध्ययन गरेको छ । त्यसमा मनोरञ्जन, सुपरमार्केट तथा फार्मेसी, पार्क, सार्वजनिक यातायात, कार्यक्षेत्र र आवास रहेका छन् ।

गूगलको प्रतिवेदन अनुसार नेपालमा रेस्टुरेन्ट, क्याफे, शपिङ सेन्टर, म्युजियम, पुस्तकालय, फिल्महल लगायत ठाउँमा सामान्यतयाभन्दा मानिसहरुको चहलपहल अझैं ३५ प्रतिशतले कम छ । तर, माच महिनाको तुलनामा भने ४३ प्रतिशतले बढेको गूगलले जनाएको छ ।

मार्चमा त्यस्ता स्थानमा हुने चहलपहल ७८ प्रतिशतले घटेको थियो । त्यस्तै ग्रोसरी, खाद्यान्न, कृषि बजार, फार्मेसी, सुपरमार्केट लगायतका स्थानमा मानिसको चहलपहल अझै पनि १७ प्रतिशले कम रहेको उल्लेख छ ।

राष्ट्रिय निकुञ्ज, नदी किनारा, सार्वजनिक बगैँचा, लगायतका क्षेत्रमा हुने चहलपहल २१ प्रतिशतले कम रहेको छ । त्यसैगरी सार्वजनिक यातायात, बसपार्क, लगायतका स्थानमा हुने गतिविधि मार्चको तुलनमा ७४ प्रतिशतबाट घटेर ३६ प्रतिशतमा झरेको छ ।

गूगलको प्रतिवेदन अनुसार काम गर्ने ठाउँमा अझै पनि ३४ प्रतिशत मानिसहरु उपस्थित हुन सकिरहेका छैनन् ।

मार्च महिनामा ७२ प्रतिशतले चहलपहल कम भएका त्यस क्षेत्रमा विस्तारै मानिसहरु फर्किने क्रम बढिरहेको देखिन्छ । यस आधारमा अझै ११ प्रतिशत मान्छे घरभित्रै रहेको गूगलको निश्कर्ष छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३