एजेन्सी । चीनको बेइजिङमा आधारित अनलाइन लर्निङ स्टार्टअप जोब्याङले लगानी संकलनको अर्को चरणमा ७५ करोड डलर (९० अर्ब ३८ करोड रुपैयाँभन्दा बढी) संकलन गरेको छ । एसियाली शैक्षिक प्रविधि बजारमा केन्द्रीत रहेर व्यवसाय थालेको यो कम्पनीले लगानीकर्ताहरुको निरन्तर विश्वास जित्न थालेको हो ।
छ वर्ष पुरानो उक्त स्टार्टअपको यो छैठौं लगानी संकलन हो । पछिल्लो चरणमा कम्पनीमा अमेरिकी लगानी कम्पनी टाइगर ग्लोबल र हङकङमा आधारित निजी इक्युटी कम्पनी फाउन्टेन भेस्ट पार्टनरले सबैभन्दा धेरै लगानी गरेका छन् ।
कम्पनीका पुराना लगानीकर्ताको रुपमा रहेका सफ्टबैंक, भिजन फण्ड, स्क्युला क्यापिटल चाइना, जियाङ हे क्यापिटल, कतार इन्भेस्टमेन्ट अथोरिटीले पनि उक्त लगानी संकलनको चरणमा उपस्थिति जनाएका थिए । हालसम्म यी लगानीकर्ताहरुले ज्योब्याङमा एक अर्ब ३३ करोड डलर (एक खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी) को लगानी गरिसकेका छन् ।
ज्योब्याङ एपले प्राथमिक तहदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि अनलाइमा शैक्षिक समस्या हल गर्ने तथा जटिल अवधारणाहरु बुझ्न मद्दत गर्दै आएको छ । यो एपमा १७ करोड सक्रिय प्रयोगकर्ता र पाँच करोड दैनिक प्रयोगकर्ताहरु रहेका छन् ।
कम्पनीका अनुसार यसमा एक करोड २० लाख प्रयोगकर्ता सःशूल्क सब्सक्राइबर्सहरु छन् । चीनमा २०१९ मा प्राथमिकदेखि कक्षा १२ कक्षासम्म २० करोड विद्यार्थीहरु रहेका थिए ।
यो पछिल्लो खबरले एसियाली बजारको शैक्षिक क्षेत्रमा लगानीकर्ताहरु आकर्षित भइरहेको देखाउँछ । यस अघि गत हप्ता भारतीय शैक्षिक प्रविधि सम्बन्धी स्टार्टअप कम्पनी ब्याज्जुले पनि मेरी मेकिर फण्ड बोण्डबाट नयाँ लगानी प्राप्त गरेको घोषणा गरेको थियो ।
ज्योब्याङलाई चीनको चर्चित प्रविधि कम्पनी बाइडुले २०१५ मा स्थापना गरेको हो । त्यसको एक वर्षपछि यो कम्पनी बाइडुबाट छुट्टिएको थियो । आई रिसर्चले गरेको अनुसन्धानमा अबको दुई वर्षमा चीनको अनलाइन शैक्षिक बजार ८१ अर्ब डलर अर्थात आजको विनिमय दरअनुसार ९७ खर्ब ६१ अर्ब ३१ करोड रुपैयाँको हुने प्रक्षेपण गरिएको छ ।