एजेन्सी । लेनोभोको गेमिङ स्मार्टफोन लेनोभो लेजन विगत केही समययता चर्चामा छ । गेमिङमा सौखिन प्रयोगकर्ताहरू यो फोन सार्वजनिक हुने दिनको प्रतिक्षामा छन् ।
अब भने कम्पनीले फोन सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । लेनोभोले यो फोन २२ जुलाईमा चीनमा सार्वजनिक गर्ने बताएको छ ।
नेपालमा यो फोन आउने विषयमा कुनै आधिकारिक जानकारी बाहिर आएको छैन । सार्वजनिक हुनु अगावै यो फोनका धेरै स्पेसिफिकेसनको समेत खुलासा भएको छ ।
लेनोभो लेजन स्मार्टफोन
६४ मेगापिक्सेलको क्यामेरा
यो फोनमा कम्पनीले ६४ मेगापिक्सेलको क्यामेरा राखेको छ । फोनमा सेल्फी र भिडियो कलिङका लागि २० मेगापिक्सेल पप अप क्यामेरा छ। यसका साथै फोनमा ६.६७ इञ्चको एमोलेड डिस्प्ले रहेको छ भने रिफ्रेश रेट १४४ हर्ज रहेको छ ।
न्यापड्रागन ८६५ प्लस प्रोसेसर भएको विश्वकै पहिलो स्मार्टफोन
चीनको सामाजिक सञ्जाल एप वाइबोमा भएको एक पोस्टमार्फत फोन सार्वजनिक हुने मिति बाहिर आयो । उक्त पोस्टमा फोनको प्रोसेसरको बारेमा समेत उल्लेख गरिएको छ । जसअनुसार यो फोन स्न्यापड्रागन ८६५ प्लस प्रोसेसर सहित बजारमा आउने पहिलो फोन हो ।
यसमा रहेको प्रोसेसरको माध्यमबाट फोनले १० प्रतिशत राम्रो जीपीयू र सीपीयू पाउने बताइएको छ । फोनमा वाईफाई सिक्स सपोर्टसँगै डुअल मोड फाइभजी कनेक्टिभिटी समेत रहेको छ । ।
५००० एमएएच क्षमताको ब्याट्री र सुपरफास्ट चार्जिङ
फोनमा ५००० एमएएच क्षमताको ब्याट्री हुनेछ । यो शक्तिशाली ब्याट्री छोटो समयमै चार्ज गर्न ९० वाट फास्ट चार्जिङ प्रविधि राखिएको बताइएको छ ।
यसका साथै फोनमा शक्तिशाली स्पिकर, डुअल कूलिङ सिस्टम पनि रहेको छ । लेनोभोको आकर्षक यो फोन एण्ड्रोइड टेनमा आधारित भएर बजारमा आउनेछ ।