close

बत्ती जाँदा काम गर्दैन एनसेलको मोबाइल सेवा

टेकपाना टेकपाना

साउन ४, २०७७ १७:१५

बत्ती जाँदा काम गर्दैन एनसेलको मोबाइल सेवा

काठमाडौं । मोबाइल सेवाका लागि टावरमा राखिने उपकरण बिजुलीको पोलमा झुण्ड्याइएको छ । त्यही विद्युत पोललाई मोबाइलको टावर बनाइएको छ ।

न सोलार सिस्टम छ, न त ब्याट्री उपकरण । बिजुलीको लाइन आउँदा मोबाइलको नेटवर्कले काम गर्छ, बत्ती जाँदा सम्पर्क विच्छेद । यो कोशी गाउँपालिका वडा नम्बर ८ भाण्टाबारी बजार चोकको तस्वीर हो ।

कोशी ब्यारेजबाट एक किलोमिटर पूर्वतर्फ राजमार्गमै पर्ने भाण्टाबारी बजारमा एनसेलले विगत चार महिनादेखि यसैगरी सेवा दिँदै आइरहेको छ । स्थानीय व्यापारी धनञ्जयकुमार साह वर्षाको बेला भएका कारण छिनछिनमा विद्युत कटौती भइरहने समस्या रहेको सुनाउँछन् ।

‘बत्ती जाँदा मोबाइलको नेटवर्क पनि जान्छ । बत्ती आएको १० मिनेटपछि मात्रै मोबाइलले काम गर्न थाल्छ,’ उनी भन्छन्, ‘डेटा र भ्वाइस प्याक लिइएको हुन्छ, प्रयोग गर्न नपाउँदै यत्तिकै खेर गइरहेको हुन्छ ।’

त्यसो त पछिल्लो समय प्रविधिमा आएको विकासका कारण बजारमा हलुका किसिमका मोबाइल टावरहरु समेत आउन थालेका छन् । विद्युत प्राधिकरणसँगको सहकार्यमा सेवाप्रदायकले त्यसका लागि बिजुलीका पोल प्रयोग गर्न सक्छन् ।

स्वीकृति लिएरै एनसेलले बिजुलीको पोल प्रयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘एनसेलले निश्चित रमक तिर्ने गरी हलुका किसिमका उपकरण पोलमा राख्न अनुमति लिएको छ,’ उनले भने ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल २४ सै घण्टा निरन्तर रुपमा सेवा प्रवाह हुने व्यवस्था मिलाउनु सेवाप्रदायकको दायीत्वको विषय भएको बताउँछन् । ‘यदि त्यस किसिमको अवस्था हो भने नियमित रुपमा सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिन्छौं,’ उनले भने ।

यस विषयमा कुराकानी गर्न खोज्दा एनसेलका पीआर तथा सञ्चार विभागका प्रतिनिधि भने सम्पर्कमा आउन चाहेनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४