close

तपाईंको नाममा २ भन्दा बढी सिमकार्ड छन् ? कुन राख्ने रोज्नुहोस्, नत्र बन्द हुन सक्छ !

टेकपाना टेकपाना

साउन ६, २०७७ १०:५

तपाईंको नाममा २ भन्दा बढी सिमकार्ड छन् ? कुन राख्ने रोज्नुहोस्, नत्र बन्द हुन सक्छ !

काठमाडौं । यदि तपाईंको नाममा एउटै सेवा प्रदायकका दुईभन्दा बढी सिमकार्ड छन् भने त्यसमध्ये कुन कुन नम्बर आफूले प्रयोग गर्ने, छनौट गर्नुहोस् । यदि अरु व्यक्तिको नाममा रहेको मिसकार्ड प्रयोग गरिरहनु भएको छ भने पनि तत्कालै आफ्नो नाममा नामसारी गरिहाल्नुहोस् । अन्यथा तपाईंको सिमकार्ड जुनसुकै बेला बन्द हुनसक्छ ।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै सेवा प्रदायकलाई निर्देशन दिँदै एक व्यक्तिको नाममा दुईभन्दा बढी सिम कार्ड जारी नगर्न भनिसकेको छ । असार १२ गते बसेको प्राधिकरण बोर्ड बैठकले एक व्यक्तिको नाममा एउटा सेवा प्रदायकको दुईभन्दा बढी सिमकार्ड हुने नहुने निर्णय लिएको थियो ।

सोही निर्णयको आधारमा असार १४ गेत सेवा प्रदायकलाई नियामकले दुईभन्दा बढी सिमकार्ड नहुने व्यवस्था गर्न निर्देशन दिएको हो । उक्त निर्देशनको कार्यानव्यन पक्षलाई लिएर अहिले प्राधिकरणले पुनः सेवा प्रदायकलाई अर्को पत्र पठाएको छ ।

प्राधिकरणले गत असर २९ गते सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड भए नभएको यकिन गर्नुपर्ने र यदि त्यस्तो भएको खण्डमा सम्बन्धित व्यक्तिलाई जानकारी दिनुपर्ने भन्दै अर्को निर्देशन जारी गरेको हो ।

http://45.32.118.189/2020/25282/

‘हाल एउटै व्यक्तिले एउटा सेवा प्रदायकका धेरै सिमकार्ड लिने गरेका छन् । यसरी एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा दुरुपयोग हुनसक्ने देखिएपछि प्राधिकरणले यस्तो निर्णय लिएको हो,’ प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘त्यसैका आधारमा अहिले सिमकार्ड प्रमाणीकरणको कार्य अघि बढाउन नयाँ निर्देशन दिएका छौं । त्यसका लागि सात दिनको अवधि छ । पत्र काटेको सात दिनभित्र सेवा प्रदायकले भेरिफिकेशनको कार्य सम्पन्न गर्नुपर्ने हुन्छ ।’

हाल एउटै व्यक्तिको नाममा १० वटाभन्दा बढीसम्म मिसकार्ड जारी भएको बताइएको छ । रोय भन्छन्, ‘सेवा प्रदायकले यस्तो विषय प्रमाणीकरण गरी प्रयोगकर्तालाई जानकारी गराउनु पर्छ भन्ने हो । एउटा व्यक्तिको नाममा दुई भन्दा बढी सिमकार्ड भएको खण्डमा सम्बन्धित व्यक्तिलाई फोन गरेर तपाईं कुन सिमकार्ड रोज्नुहुन्छ, भनेर प्रमाणिकरण गर्नुपर्नेछ । यदि एउटा व्यक्तिको नाममा रहेको सिमकार्ड अर्को व्यक्तिले प्रयोग गरिरहेको छ भने सिम प्रयोग गर्नेले तत्कालै आफ्नो नाममा नामसारी गराउनुपर्ने हुन्छ ।’

यदि यो नभएको खण्डमा सिमकार्ड नै बन्द गर्न भन्दै प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको छ । साथै निर्देशनमा सेवा प्रदायकले सिमकार्डको व्यक्तिगत विवरणको प्रत्याभुति पनि प्रदान गर्नुपर्ने विषय उल्लेख छ । रोयले भने, ‘व्यक्तिगत जानकारी प्रत्याभूति भन्नाले एक व्यक्तिको नाममा रहेको सिमकार्ड अर्को व्यक्तिले प्रयोग गरिरहेको भए त्यस्ता सिमलाई बन्द गर्नु पर्‍यो भन्ने हो । किन भने कतिपय घटनामा प्रहरीले सिमकार्डका आधारमा अनुसन्धान गरिरहेको हुन्छ । त्यसैका आधारमा मान्छे समात्न गयो, तर अर्कै मान्छे पर्ने र अनावश्यक रुपमा दुःख पाउने खालका घटना पनि भएका छन् ।’

http://45.32.118.189/2020/24485/

डेटाबेसमा हेर्दा विदेशमा रहेको अथवा मृत्यु भइसकेको व्यक्तिको नामको सिमकार्ड अर्को व्यक्तिले प्रयोग गरिरहेको पाइन्छ । जसले गर्दा अपराधिक घटनाहरु समेत बढाउन सक्ने नियामकको विश्लेषण छ । ‘त्यसैले सेवा प्रदायकको डेटाबेस प्रष्ट हुनुपर्‍यो भन्ने मान्यता प्राधिकरणको हो,’ रोयले भने ।

डेटाबेसलाई पुनः परिमार्जन गर्न‍े योजना कम्पनीले समेत बनाइरहेको नेपाल टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । ‘यो विषय यसअघिबाटै उठेको हो । त्यसको तयारी पनि भइरहेको छ । किन भने एउटाको नाममा भएको सिमकार्ड अर्कोले प्रयोग गरी दुरुपयोग गर्ने खालका घटना हुनसक्छन्,’ उनले भने, ‘त्यसैले यो आवश्यक पनि हो । तर, यसो भन्दैमा सिमकार्ड नै बन्द गर्ने भन्ने मिल्दैन ।’

बढी भएका सिमकार्ड बन्द गर्दा ग्राहक घट्ने सेवाप्रदायकको बुझाई छ । सिमकार्ड भेरिफिकेसन गरी नियामकलाई जानकारी गराउने कार्यमा भने उनीहरु सकारात्मक देखिएका छन् ।

‘यदि एउटा नाममा भएको सिमकार्ड अरु कसैले प्रयोग गरिरहेको छ भने प्रयोगकर्ता आफ्नै नाममा नामसारी गर्नुपर्छ भनेर जानकारी दिन्छौं । तर, सात दिन भित्र भन्ने विषय भने अव्यवहारिक हुन सक्छ,’ सहप्रवक्ता भण्डारीले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४