काठमाडौं । नोकिया फोनको प्यारेन्ट कम्पनी एचएमडी ग्लोबलले आफ्नो पहिलो चरणको लगानी संकलनमा २३ करोड अमेरिकी डलर (२७ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ) जुटाएको घोषणा गरेको छ । एचएमडी ग्लोबलले विश्वभर रहेका आफ्ना विभिन्न रणनीतिक साझेदारहरुबाट सो रकम जुटाएको हो ।
यो लगानीले एचएमडी ग्लोबलको चार क्षेत्रको रणनीतिक भिजनलाई अझ दरिलो बनाउन सहयोग गर्ने कम्पनीको अपेक्षा छ । कम्पनीले अमेरिकी क्यारियरहरुसँग बलियो साझेदारी गरेर विश्वभरका उपभोक्ताहरुका लागि आफ्नो फाइभजी स्मार्टफोन उपलब्ध गराउने पहिलो रणनीतिक भिजन लिएको छ ।
यस्तै दोस्रो भिजन भनेको कम्पनी कोभिडपछिको वास्तविकताको हिस्साको रुपमा डिजिटल फस्ट अफरिङतिर अगाडि बढ्नेछ । कम्पनीले ब्राजिल जस्तो उदाउँदो बजारमा आफ्नो पहुँच विस्तार गरिसकेको छ ।
यसैगरी भारत र अफ्रिका जस्ता ठूला बजारमा आफ्नो पहुँच विस्तार गर्ने कम्पनीको तेस्रो भिजन हो । अन्तत: यो लगानीले कम्पनीलाई हार्डवेयर बाहेक एउटा पूर्ण मोबाइल सेवा प्रदायकको रुपमा समेत आफ्नो स्थानलाई बलियो बनाउने चौंथो भिजनलाई सहयोग गर्नेछ ।
भ्याल्युको आधारमा आफूलाई नेतृत्वदायी फिचर फोन निर्माताको रुपमा स्थापित गरेको एचएमडी ग्लोबलले आफ्नो छुट्टै एन्ड्रोइड स्मार्टफोन पनि ल्याउँदैछ । नोकियाको नयाँ स्मार्टफोन प्रिमियम नोर्डिक डिजाइनमा आउनेछ ।
जसमा युरोपेली सम्पदा, वरिष्ठ प्रोडक्ट गुणस्तर, प्रिमियम जेइस इमेजिङ अनुभव, विश्वसनीयता र उत्कृष्ट सुरक्षा फिचर पाउन सकिनेछ । कम्पनीले यो नयाँ स्मार्टफोनमा तीन वर्षसम्म मासिक सुरक्षा अपडेट र दुई वर्षसम्म एन्ड्रोइड सफ्टवेयर अपडेट प्रदान गर्ने बताएको छ ।
‘सुरुवातदेखि नै एचएमडी ग्लोबलले आफ्ना रणनीतिक साझेदारहरुसँग बलियो सम्बन्ध बनाउन कसरत गर्दै आइरहेको छ,’ एचएमडी ग्लोबलका सीईओ फ्लोरिन सेइचे भन्छन्, ‘प्राप्त नयाँ लगानी कोषले हाम्रो दीर्घकालीन व्यावसायिक रणनीतिलाई थप बलियो बनाउन सहयोग गर्नेछ । आधुनिक मोबाइल प्रविधि सबैका लागि पहुँचयोग्य बनाउने हाम्रो संयुक्त मिसन पुरा हुने देखिएको छ ।’
सुरक्षा, विश्वसनीयता र निर्भरता एचएमडी ग्लोबलको कर्नर स्टोन भएको सीईओ सेइचेले बताए । सन् २०१६ मा आफ्नो सेवा सुरु गरेदेखि एचएमडी ग्लोबल कम्पनी अहिले आठ क्षेत्रका ९१ वटा मुलुकहरुमा सक्रिय छ । हालसम्म यसका दुई लाख ४० हजार खुद्रा आउटलेट छन् भने २४ करोड मानिसहरुले कम्पनीको फोन प्रयोग गरिरहेका छन् ।