close

सरकारको ‘हाम्रो स्वास्थ्य’ एपमै कोरोना ट्रेसिङ फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

भदौ १०, २०७७ १९:४८

सरकारको ‘हाम्रो स्वास्थ्य’ एपमै कोरोना ट्रेसिङ फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । सरकारले हाम्रो स्वास्थ्य एपको नयाँ अपडेटमा कोरोना भाइरस संक्रमितको ट्रेसिङका लागि विशेष फिचर समावेश गरेको छ । प्रयोगकर्ताको गोपनीयताको समेत ख्याल गर्दै एपमा  ब्लूटूथमा आधारित ट्रेसिङ फिचर समावेश गरिएको हो । 

हाम्रो स्वास्थ्य मोबाइल एपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगकर्तामा कोभिड-१९ को संक्रमणको जोखिम कम गर्न ब्लूटूथ ट्रेसिङले सहयोग पुर्‍याउने अपेक्षा गरेको छ। 

केही महिना अघि मन्त्रालयले आफ्नो आधिकारिक मोबाइल एप हाम्रो स्वास्थ्य एन्ड्रोइड र आइओएसका प्रयोगकर्ताहरुको सार्वजनिक गरेको थियो । मोबाइल एपमा प्रयोगकर्ताले दैनिक आफ्नो स्वास्थ्यको स्व-मूल्यांकन भर्न सक्ने सुविधा पनि छ ।

भरिएको स्वमूल्यांकन विवरणका आधारमा मन्त्रालय मातहतका विज्ञ स्वास्थ्यकर्मीले सम्भावित संक्रमणको लक्षण भएका प्रयोगकर्तालाई फोनमार्फत् थप सल्लाह सुझाव तथा आवश्यक परे नजिकैको स्वास्थ्य संस्थासम्म जान प्रबन्ध समेत मिलाइदिन्छन् ।

कसरी काम गर्छ यसले ?

मोबाइल एप खोलेपछि प्रयोगकर्तालाई मोबाइलको ब्लूटूथ ट्रेसिङ खुल्ला गर्न एपले अनुरोध गर्दछ । प्रयोगकर्ताले अनुमति दिएमा मोबाइल एपले ब्लूटूथ ट्रेसिङ सुरु गर्छ । 

यो एपले १० मिटरभित्रको दुरीमा रहेका ब्लूटूथ उपकरणहरुको हार्डवेयर परिचय नम्बर (म्याक आईडी) संकलन गर्दछ । तर यसले मोबाइल नम्बर वा मोबाइल उपकरणको आईडी संकलन भने गर्दैन ।

प्रयोगकर्ता कताबाट कहाँ गयो, कसलाई भेट्यो, कति समय सो व्यक्तिको नजिक रह्यो जस्ता विवरण पनि यसमा संकलन नहुने बताइएको छ ।

यसले प्रयोगकर्ता कतिवटा ब्लूटूथ उपकरणको नजिक कति समय रह्यो भन्ने जानकारी मात्र यसले संकलन गर्दछ ।  उक्त उपकरणको म्याक आईडीको आधारमा सम्बन्धित व्यक्तिको पहिचान समेत नखुल्ने बताइएको छ ।

यसो हुँदा ब्लूटूथमा आधारित यो ट्रेसिङ जीपीएस तथा मोबाइल फोनको सिग्नल ट्रयाकिङको तुलनामा प्रयोगकर्ताको गोपनीयतामैत्री मानिन्छ । यसरी संकलित म्याक आईडी ‘हाम्रो स्वास्थ्य’ एप प्रयोगकर्ताको उपकरणमा मात्र संकलित हुने र १४ दिनपछि त्यो स्वतः मेटिएर जाने मन्त्रालयको भनाई छ ।

यदि कुनै व्यक्तिलाई संक्रमण भएमा र उसले हाम्रो स्वास्थ्य एपमार्फत् ब्लूटूथ ट्रेसिङ प्रयोग गरेको भए वा एप प्रयोग नगरेको भए पनि ब्लूटूथ खुल्ला गरेको रहेछ र सो आईडी अन्य हाम्रो स्वास्थ्य एप प्रयोगकर्ताको ब्लूटूथ सम्पर्कमा आएको रहेछ  भने पनि स्वास्थ्य मन्त्रालयका प्राविधिकहरुले हाम्रो स्वास्थ्यको ड्यासबोर्डमा गएर संक्रमितको ब्लूटूथ आईडी सर्भरमा सूचीकरण गर्न सक्छन् । 

ब्लूटूथ ट्रेसिङ बन्द गरेका उपकरणहरुमा पनि समय समयमा अपडेट चेक आइरहन्छ । यसले सर्भरमा कुनै संक्रमितको नयाँ ब्लूटूथको डिभाइस आईडी अद्यावधिक छ वा छैन भनेर चेक गर्छ । 

यदि सर्भरमा रहेको कुनै डिभाइस आईडी प्रयोगकर्ताको मोबाइल उपकरणमा संकलित डिभाइस आईडीसँग मेल खान गएमा सर्वप्रथम त्यो डिभाइस आईडी आफ्नो हो कि होइन भनेर पहिचान गर्दछ ।

त्यसपछि प्रयोगकर्ताको उपकरणमा संकलित डिभाइस आईडीहरुसँग दाँजेर हेरिन्छ । यदि आईडी जुधेमा कोरोनाको संक्रमण भएको हुनसक्ने अन्दाजमा कोरोनाको परीक्षणका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

 हाम्रो स्वास्थ्य एप डाउनलोड गर्न एण्ड्रोइडका लागि यहाँ र आईफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३