काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा भएको ‘वर्ल्ड आईटी शो २०२५’ मा नेपालका तीन आईटी कम्पनीले सहभागिता जनाएका छन् । अप्रिल २४ देखि २६ सम्म सोलको सीओईएक्स कनभेन्सन सेन्टरमा भएको तीन दिने प्रदर्शनीमा जेनेरेटिभ एआई, क्वान्टम कम्प्युटिङ, अन-डिभाइस एआई, डिजिटल स्वास्थ्य, स्मार्ट मोबिलिटी, सिक्सजी जस्ता नयाँ प्रविधि प्रस्तुत गरिएको थियो ।
‘द नेक्स्ट वेभ’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रम कोरियाको विज्ञान तथा आईसीटी मन्त्रालय र के फेयर्स लिमिटेडले आयोजना गरेका हुन् । कार्यक्रममा ४५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रविधि कम्पनीको सहभागिता रहेको थियो भने ७० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।
नेपालबाट जेनेज सोलुसनका सीईओ अञ्जनी फुयाल, क्विकफक्स कन्सल्टिङका सोना सिंह र पल्लव पराजुली तथा एएमनिल टेक्नोलोजीजबाट अलिशा श्रेष्ठ सहभागी थिए ।
जेनेज सोलुसनका फुयाल युके तथा आयरल्यान्डका लागि एमेज़न वेब सर्भिस (एडब्लूएस) का एम्बासडर पनि हुन् । यस्तो विश्वस्तरीय कार्यक्रममा नेपालको डिजिटल इनोभेसन तथा अन्तर्राष्ट्रिय सहकार्यतर्फको प्रतिबद्धता प्रस्ट देखिएको फुयालले बताए ।
कार्यक्रममा एआई, मेटाभर्स, स्मार्ट सिटी, टेलिकमजस्ता प्रविधि क्षेत्रका छुट्टाछुट्टै जोनहरू राखिएका थिए । साथै, १:१ व्यापारिक भेटघाट, नवप्रवर्तन पुरस्कार तथा अन्य सहायक कार्यक्रमहरू पनि समावेश थिए ।
अप्रिल २५ का दिन नेपाली दूतावास सोल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (न्यास-आईटी) को सहकार्यमा ‘डिजिटल भविष्यका लागि नेपाल–कोरिया सहकार्य’ शीर्षकमा एक उच्चस्तरीय नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको थियो ।
यसले क्लाउड कम्प्युटिङ, डिजिटल रुपान्तरण र नवप्रवर्तनका क्षेत्रमा दुवै देशका व्यावसायिक तथा प्रविधि नेताबिच रणनीतिक साझेदारीको सम्भावनालाई थप बलियो बनाएको बताइएको छ ।