काठमाडौं । कोभिड–१९ का समाजिक दुरी कायम गर्नुपर्ने अहिलेको परिस्थितिले वर्क फ्रम एउटा परिपाटी बन्दै गएको छ । यस्तो अवस्थामा कार्यालयको बैठक तथा पारिवारिक कुराकानी पनि विभिन्न भर्चुअल माध्यममा भइरहेको छ ।
यस्तोमा भिडियो कन्फ्रेन्सिङ टूल नै सबैभन्दा उत्तम विकल्प बनिरहेका छन् । जसमा जूम, गूगल मीट, फेसबुक म्यासेन्जर, भाइबर, ह्वाट्सएप लगायतका अनेकौं माध्यम छन् ।
साथै गूगलकै अर्को प्रडक्टको रुपमा गूगल डुओ पनि रहेको छ । जस्तोसुकै इन्टरनेटमा पनि गुणस्तरिय भिडियो कल सम्भव हुने दाबी गरिँदै आएको गूगल डुओ यस अघिसम्म मोबाइलमा मात्रै उपलब्ध हुँदै आएको थियो ।
अब भने यो एप एन्ड्रोइड टीभीमा पनि उपलब्ध हुने भएको छ । यसका लागि हाल कम्पनीले बेटा भर्सन परीक्षण गरिरहेको जनाएको छ । केही सीमित प्रयोगकर्तालाई उपलब्ध गराइएको उक्त बेटा भर्सनप्रति प्रयोगकर्ताले दिएको प्रतिक्रियालाई मध्यनजर गरेर यसलाई सबै प्रयोगकर्तामाझ सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेको हो ।
यसको मतलव अब निकट भविष्यमै प्रयोगकर्ताले स्मार्ट टीभीबाट समेत भिडियो कल गर्न सक्नेछन् । ‘ठूलो स्क्रीन किन बैठकमा मात्र प्रयोग गर्ने ?,’ गूगलले आफ्नो ब्लगमा लेखेको छ, ‘साथीभाइ र परिवारसँगको कुराकानीमा पनि ठूलो स्क्रीन प्रयोग गर्न सकिनेछ ।’
त्यसका लागि एन्ड्रोइड टीभीमा क्यामेरा भने आवश्यक पर्नेछ । यदि टीभीमै क्यामेरा भएको खण्डमा त झन सहज हुने नै भयो । यदि क्यामेरा छैन भने पनि यूएसबीमार्फत क्यामेरा प्रयोग गर्न सकिने बताइएको छ ।