काठमाडौं । देशको स्मार्टफोन बजारको ९९ प्रतिशत हिस्सामाथि प्रभाव जमाइसकेको गुगल प्ले स्टोरको एकाधिकारलाई माथ दिन भारतका दजर्नौं अग्रणी स्टार्टअप तथा कम्पनीहरु एकीकृत भएका छन् । गुगल प्ले स्टोरमाथिको निर्भरतालाई तोड्न अहिले भारतको प्रविधि समुदाय नयाँ एप स्टोर ल्याउने तयारीमा जुटेको हो ।
यो पहलकदमीको नेतृत्व भारतका हाई प्रोफाइल आईटी उद्यमीहरुले लिएका छन् । जसमा पेटीएमका सहसंस्थापक तथा सीईओ विजय शेखर शर्मा, ट्राभल टिकेटिङ कम्पनी मेक माई ट्रिपका दिप कार्ला तथा शेयर च्याट, पोलिसी बजार तथा अन्य कम्पनीहरुका कार्यकारी प्रमूखहरु यसमा सहभागी छन्।
यी संस्थापकहरुले भारतमा गुगलको बढ्दो एकाधिकारमाथि गहिरो चिन्ता व्यक्ति गर्दै भारतमा गुगल प्ले स्टोरको निर्देशिका निमय असंगत र अनियमित रहेको आरोप लगाएका छन् ।
गुगलले एप डेभलपर्स तथा कम्पनीहरुले इन एप पर्चेज अन्तर्गत अनिवार्यरुपमा ३० प्रतिशत कमिसन गुगल इन एप पेमेन्ट सर्भिसमा बुझाउनु पर्ने नियम अगामी वर्षदेखि लागू गर्ने घोषणा गरेपछि भारतमा यस विषयमाथि चर्को बहश छेडिएको हो । हालांकी गुगल आफ्नो यो नीति भारतमा २०२२ को अप्रिलदेखि मात्रै लागु गर्नेगरी पछाडि हटिसकेको छ ।
गुगलले अस्थायी कालका लागि पेटीएमको मार्क्यु एपलाई प्ले स्टोर नियमको लगातार उल्लंघन गरेको आरोप लगाउँदै प्ले स्टोरबाट हटाएको थियो । गुगलको त्यस्तो कदमबाट निराश पेटीएमका सीईओ शर्माले टेलिभिजन अन्तरवार्तामा भारतले डिजिटल विजनेस गर्ने हो भने अरु देशको कानूनभन्दा बाहिर रहेर सञ्चालन भइरहेको संस्थाको कृपामा बाँच्न नहुने विचार व्यक्त गरेका थिए ।
गुगलले हटस्टार लगायत विभिन्न ठूला स्टार्टअप कम्पनीहरुलाई गत महिना नोटिस पठाइसकेको छ । कम्पनीले खाद्यान्न डेलिभरी कम्पनी जोमाटो र स्विग्गी जस्ता कम्पनीहरुलाई पनि चेतावनी नोटिस पठाइसकेको छ ।
महामारीका कारण गिर्दो अर्थतन्त्रलाई बचाउन सरकारले जनतालाई आत्मनिर्भर बन्न आह्वान गर्ने र यसले आफ्नो अभियानलाई सहयोग पुर्याउने अभियानमा जोडिएका केही सदस्यहरुको विश्वास छ ।
तर गुगलको एन्ड्रोइडको पहुँच बाहेक भारतमा मोबाइल भुक्तानी बजारमा पनि गुगल नै अग्रणी स्थानमा छ । यसबाहेक गुगलले भारतको धेरैवटा स्टार्टअप कम्पनीलाई सहायता प्रदान गरेको छ । यस्तै भारतका धनाढ्य मुकेश अम्बानीको जियो प्लेटफर्ममा साढे चार अर्ब डलरको लगानी पनि उसको छ ।
जियोमा भएको गुगलको भारी लगानीले अहिले धेरै उद्योगी व्यवसायीहरुमा यो नयाँ कदमलाई लिएर दुविधा उत्पन्न भएको छ ।
यस्तो अवस्थामा भारतीय आईटी उद्यमी समुदायको गुगल प्रतिको बैराग र गुगलको एकाधिकारलाई चिर्ने तेस्रो पक्षको रुपमा इन्डस ओएस उदाएको छ । इन्डस ओएस सामसङको थर्ड पार्टी प्ले स्टोर हो ।
गत महिना उक्त थर्ड पार्टी प्ले स्टोर १० करोड भन्दा धेरै मासिक सक्रिय प्रयोगकर्ताहरु माझ पुगेको थियो । तर पेटिएम र अन्य एपले भने हालसम्म यसलाई प्रयोग गरेका छैनन् ।
पेटीएमले सार्वजनिक गर्यौ मिनी एप स्टोर
यसैबीच पेटीएमले आफ्नो मिनी एप स्टोर सार्वजनिक गरेको छ । कम्पनीले मिनी एप स्टोरका लागि एचटीएमएल र जाभास्क्रिप्ट जस्ता ओपन सोर्स प्रविधिलाई इन्टिग्रेट गर्ने बताएको छ ।
जसले हाललाई पेटीएमका १५ करोड सक्रिय प्रयोगकर्तालाई एक्सेस दिनेछ । पेटीएमका सीईओ तथा संस्थापक शर्माले मिनी एप स्टोर सार्वजनिक गरेको अवसरमा ट्वीट गरेका छन् ।
When you take what we earn, you don’t grow together. You grow at our cost. Young co’s seek tax rebates & holidays from governments. And Google takes all this money spent by Indians on other Indian’s apps to offshores. Depriving us of our capital investments, jobs & growth. https://t.co/SUEfZuefq1
एप स्टोरमा एनालिटिक्सका लागि डेभलपर ड्याशबोर्डका साथै फरक फरक मार्केटिङ टुल तथा पेमेन्ट कलेक्सनको अप्सन समेत उपलब्ध छ । पेटीएमको मिनी एप स्टोरमा सुरुवाती चरणमै कयौं एपको इन्ट्री भएको छ ।
जसमा वान एमजी, नेटमेड्स, डिकेथलान जस्ता एपहरु रहेका छन् । पेटीएमका अनुसार डेभलपरले यो प्लेटफर्ममा पेटिएम वालेट तथा यूपीआईको माध्यमबाट शून्य प्रतिशत पमेन्ट चार्जमा एपलाई डिब्स्ट्रिब्युट गर्न सक्नेछन् ।