काठमाडौं । बेलायतमा खुद्रा उपभोक्ताका लागि क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लागेपछि बिटक्वाइन, इथेरियम, एक्सआरपी जस्ता धेरै क्रिप्टोकरेन्सी बजार नराम्रोसँग प्रभावित भएको छ ।
देशकाे वित्तीय नियामक फाइनेन्शियल कन्डक्ट अथोरिटी (एफसीए)ले एक आधिकारिक वक्तव्य मार्फत क्रिप्टोरकेन्सीहरु पाँच कारणले उपभोक्ताका लागि हानिकारक हुने भन्दै प्रतिबन्धकाे घोषणा गरेको छ ।
एफसीएका अनुसार क्रिप्टोकरेन्सीसँग आफ्नो मूल्यलाई संरक्षण गर्ने कुनै पनि विश्वासिलो आधार छैन । त्यस्तै क्रिप्टो बजारमा दुर्व्यसन, गैरकानूनी गतिविधि र वित्तीय अपराध व्याप्त भएकाे ठहर एफसीएले गरेकाे छ ।
क्रिप्टोकरेन्सी एकदमै गतिशील हुने र प्रयाेगकर्तामा पर्याप्त ज्ञान नहुँदा हानिकारक हुने पनि उसले उल्लेख गरेकाे छ ।
एफसीएले आफ्नो विज्ञप्तीमा खुद्रा उपभोक्ताहरुल यसमा लगानी गरे अचानक र अप्रत्याशित लगानी डुब्ने अवस्था आउनसक्ने उल्लेख गरेको छ ।
बेलायतको उक्त नियामक निकायले क्रिप्टो डेरिभेटिभ्समा लागू गरिएको यसप्रकारको प्रतिबन्धले त्यहाँका आम उपभोक्ताको वार्षिक पाँच करोड ३० लाख युरो जोगाउने दाबी गरेको छ ।
प्रतिबन्धसँगै बेलायती उपभोक्तामाझ कुनै पनि प्रकारको क्रिप्टोकरेन्सीको वितरण र बजारीकरणलाई उसले रोक लगाएको छ ।
यसबाहेक एफसीएले ती क्रिप्टोकरेन्सीको विकल्प, भविष्य, कन्ट्रयाक्ट फर डिफ्रेन्सेस सीएफडी र एक्सचेन्ज ट्रेडेड नोट्स (ईटीएन) पनि उल्लेख गरेको थियो ।
यस किसिमको प्रतिबन्ध बेलायतभित्र र बाहिर सञ्चालन भइरहेका सबै किसिमका कम्पनीमा लागू हुने उसले बताएको छ ।
उक्त प्रतिबन्ध औपचारिक रुपमा ६ जनवरी २०२१ देखि मात्र लागू हुने उसले बताएको छ । तर क्रिप्टो डेरिभेटिभ्सबाट कारोबार गर्ने कम्पनीहरुलाई यस मितिअघि नै त्यसप्रकारको वित्तीय कारोबार बन्द गर्न नियामक एफसीएले निर्देशन दिएको छ ।