काठमाडौं । खेतिको निगरानीका लागि गुगलले प्रोटोटाइप रोबोट सार्वजनिक गरेको छ । गुगलको मुख्य कम्पनी अल्फाबेटले प्रोजेक्ट मिनरल नामक परियोजना अन्तर्गत बाली तथा उत्पादनको निगरानी गर्न सक्ने खालको प्रोटोटाइप रोबोटको तयार पारेको हो ।
उक्त रोबटले किसानहरुलाई बालीको उत्पादनमा सुधार गर्न सहयोग पुर्याउने उल्लेख गरिएको छ । गुगलले सार्वजनिक गरेको रोबटको प्राटोटाइप अनुसार उक्त रोबटहरु सामान्य रोबटको तुलानमा केही अग्लो हुनेछ ।
यसले खेतमा लगाइएको बालीलाई कुनै असर नपुर्याई त्यसकाे अध्ययन र निगरानी गर्नसक्ने जनाइएको छ । साथै यसलाई बिरुवाको माथि पनि चलाउन सकिन्छ ।
‘यसको लक्ष्य भनेको बालीहरू कसरी बढ्छन् भन्नेबारे विशाल डेटा संकलन गर्नु हो,’ गुगलको ब्लगमा प्रोजेक्टका प्रमुख इलियट ग्रान्टले भने, ‘यसले कृषि उद्योगलाई अझ बढी प्रभावकारी र धेरै उत्पादन गर्न मद्धत पुर्याउने छ ।’
यसकाे मद्दतले विश्वको खाद्यान्नको बढ्दो आवश्यकता र खाद्यान्नको वृद्धिदरको स्थिरतालाई सम्बोधन गर्न सकिन्छ भन्ने योजना प्राजेक्टको रहेको छ ।
‘यसले प्रत्येक बिरुवालाई अनुगमन गरी त्यसलाई आवश्यक पोषण दिन सक्छ भन्ने हो,’ ग्रान्टले भनेका छन ।
उनले अगाडि भने, ‘यदि हामी बालीनाली उत्पादनको आनुवंशिक र वातावरणीय सुधारमा प्रगति गर्न सक्दछौं भने के हुन्छ ? हालका उपकरणहरूले किसानलाई आवश्यक हुने किसिमको जानकारी दिदैनन् । त्यसैले यसले ती आवश्यकतालाई पुर्ति गर्न सक्नेछ ।’