काठमाडौं । रिलायन्स जिओले आफ्नो छुट्टै वेब ब्राउजर सार्वजनिक गरेको छ । इनक्रिप्टेड कनेक्सन सपोर्ट गर्ने यो नयाँ वेब ब्राउजरलाई कम्पनीले ‘जिओ पेजेज’को नाम दिएको छ ।
कम्पनीले आफ्नो वेब ब्राउजर फास्ट हुनुका साथै पूर्णतः सुरक्षित रहेको दाबी गरेको छ । डेटा सेक्युरिटीका लागि जारी अन्तर्राष्ट्रिय बहस र चिनियाँ कम्पनी यूसी ब्राउजरमा लागेको प्रतिबन्धका बीच रिलायन्स जिओले मौका छोपेको हो ।
कम्पनीले जिओ पेजेजले अन्य ब्राउजरको तुलनामा प्रयोगकर्तालाई गोपनीयताका साथै डेटाको पूर्ण नियन्त्रण प्रदान गर्ने बताएको छ । अंग्रेजी बाहेक ८ वटा भारतीय भाषामा काम गर्ने यो ब्राउजरलाई मुख्यतः हाललाई भारतीय बजारमा नै केन्द्रीत गरिनेछ ।
यसमा अंग्रेजी, हिन्दी, मराठी, तमिल, गुजराती, तेलगू, मलयालम, कन्नड र बंगाली लगायतका भाषाको सपोर्ट रहेको छ ।
पर्सनलाइज्ड होम स्क्रिन, पर्सनलाइज्ड थिम, पर्सनलाइज्ड कन्टेन्ट, इन्फरमेटिभ कार्ड, एड्भान्स डाउनलोड म्यानेजर, इनकग्निटो मोड र एड ब्लकर जस्ता सुविधा पनि जिओ पेजेजमा राखिएको छ ।