close

सामसङ र साओमीलाई पछि पार्दै लाभा नेपालमा नम्बर वान !

टेकपाना टेकपाना

कात्तिक १५, २०७७ १७:१७

सामसङ र साओमीलाई पछि पार्दै लाभा नेपालमा नम्बर वान !

काठमाडौं । लामो समयदेखि नेपाली बजारमा सामसङले आफूलाई नम्बर वान घोषित गर्दै आएको थियो । तर पछिल्लो केही समयदेखि साओमीले समेत आफूलाई बजार हिस्साको आधारमा आफूलाई नै नम्बर वान दाबी गर्न थालेको छ ।

यकिन तथ्याङ्क प्रकाशन नहुँदा यसरी बिभिन्न ब्राण्डले बजारमा आफ्नो स्थान दाबी गर्नुपर्ने अवस्था रहेको थियो । तर पछिल्लो समय दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा आयातित मोबाइल ह्याण्डसेटको विवरण बाहिर ल्याएको छ ।

इक्विपमेन्ट आइडेन्टीटी रजिस्टर (ईआईआर) को रुपमा मोबाइलको आईएमईआई दर्ता अनिवार्य गरेको प्राधिकरणले पछिल्लो एक वर्षको तथ्याङ्क निकालेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुझाइएको प्राधिकरणको वार्षिक प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७६/०७७ मा कुल ७६ लाख १४ हजार १९५ आईएमइआई दर्ता भएका छन् ।

श्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

जसमध्ये सबैभन्दा धेरै भारतीय मोबाइल निर्माता कम्पनी लाभाका रहेको देखिएको छ । प्रतिवेदन अनुसार गत आवमा नेपालमा लाभाका मोबाइलको ११ लाख ४२ हजार १२९ वटा आईएमईआई दर्ता भएको छ ।

लाभापछि दोस्रो स्थानमा चिनिया मोबाइल निर्माता कम्पनी आईटेल रहेको छ । गत वर्ष कम्पनीका मोबाइलका नौ लाख ८९ हजार ८४५ वटा आईएमईआई दर्ता भएको प्राधिकरणको तथ्याङ्कमा देखिन्छ ।

दक्षिण कोरियाली कम्पनी सामसङ भने तेस्रो स्थानमा परेको छ । जसका सात लाख ६१ हजार ४१९ वटा आईएमईआई दर्ता भएका छन् ।

सामसङपछि कलर्स, साओमी, नोकिया, किभि, टम्बो, भिभो र राइट क्रमशः चौथोदेखि दशौं स्थानमा छन् । यी बाहेक अन्य ब्राण्डका मोबाइलको आईएमईआई दर्ता संख्या भने १६ लाख ७५ हजार १२३ रहेको छ ।

भन्सार तिरेर आएका अधिकांश मोबाइलको आईएमईआई प्राधिकरणमा दर्ता हुने गरेको छ । तर प्राधिकरणमा दर्ता नगरिएका मोबाइलहरु भने यसमा समेटिएको छैन ।

*सम्पादित

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०