close

कुनै समय एप्पल बहिष्कार गर्ने ट्रम्प अहिले चलाउँछन् २ वटा आईफोन

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ ११:२३

कुनै समय एप्पल बहिष्कार गर्ने ट्रम्प अहिले चलाउँछन् २ वटा आईफोन

काठमाडौं । डोनल्ड ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति हुन् । ४६ औं राष्ट्रपति पदका लागि अहिले ट्रम्प पूर्व उपराष्ट्रपति जो बिडेनबीच भएको चुनावी प्रतिस्पर्धाको अन्तिम नतिजा आउने क्रममा छ ।

डोनल्ड ट्रम्प भलै विश्वको शक्तिशाली देशको राष्ट्रपति पदमा छन् । तर उनी अक्सर विवादमा रहिरहने गर्दछन् ।

ट्रम्पको ट्वीटलाई ट्वीटरले बेलाबेलामा भ्रामक तथा गलत जानकारी भन्दै ब्लक समेत गरिदिन्छ । तपाईं अचम्ममा पर्नुहुन्छ, जुन ट्वीटरसँग उनको बेलाबेलामा आमने सामनेको स्थिति हुन्छ, त्यही ट्वीटरमा ट्वीट गर्न ट्रम्पले एक छुट्टै फोन राखेका छन् ।

कुनै समय ट्रम्प एप्पलका उत्पादनहरु बहिष्कार गर्दथे । तर आज उनी दुई आईफोन गर्छन् । एउटा आईफोनबाट उनी केवल ट्वीट मात्र गर्छन् । डोनल्ड ट्रम्पसँग २०१७ को मार्चसम्म एन्ड्रोइड फोन मात्र थियो ।

जुन सामसङको रहेको बताइन्छ । तर अहिले उनी आईफोन प्रयोग गर्दछन् । ट्रम्पले सन् २०१६ मा एप्पलको आईफोनलाई बहिष्कार गरेका थिए । उनले ट्वीट गरेरै आईफोन प्रयोग नगर्न मानिसहरुलाई आग्रह गरेका थिए ।

सन् २०१५ मा स्यान बर्नार्डिनो शुटिङ पश्चात एप्पलले हमलाकारीको फोन अनलक गर्न अस्वीकार गरेको थियो । त्यसपश्चात ट्रम्पले आईफोन बहिष्कारको अपिल गरेका थिए ।

सन् २०१८ मा पोलिटिकोमा प्रकाशित रिपोर्टमा दाबी गरिएअनुसार डोनल्ड ट्रम्प दुई वटा आईफोन प्रयोग गर्दछन् । जसमा एउटा कलिङ तथा म्यासेजिङका लागि हुन्छ भने अर्को आईफोनबाट ट्वीट गर्छन् र केही न्यूज वेबसाइट हेर्दछन् ।

यी दुई आईफोन ट्रम्पको ह्वाइट हाउस सूचना प्राद्योगिकी तथा ह्वाइट हाउस सञ्चार एजेन्सीले उपलब्ध गराएको हो । रिपोर्टमा यो पनि भनिएको छ कि सुरक्षाका कारण ट्रम्पलाई प्रत्येक ३० दिनमा ट्वीटर प्रयोग गर्ने आईफोन परिवर्तन गर्न सल्लाह दिइएको थियो ।

तर उनले त्यसलाई सोझै अस्वीकार गरिदिए । यो पनि भनिन्छ कि सेक्युरिटी एजेन्सीहरुको जाँच बिना ट्रम्पले आफ्नो ट्वीटर चलाउने फोन पाँच महिनासम्म प्रयोग गरेका थिए ।

जब कि पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा ओबामा र उनकी पत्नीको फोनको जाँच प्रत्येक ३० दिनमा हुने गरेको थियो । आईफोन अघि ह्वाइट हाउसमा ब्ल्याकबेरी फोनको प्रयोग हुने गर्दथे ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत ब्ल्याकबेरी फोन नै प्रयोग गर्दथे । यद्यपी केही दिनमा ट्रम्पको फोन नम्बर भने बदल्ने गरिएको छ । 

ट्रम्प कार्यकाल अघि यस्तो थियो नियम

कुनै पनि राष्ट्राध्यक्षमाथि विभिन्न देशका लागि जासुसी गर्ने एजेन्सीहरुको पुरा नजर रहेको हुन्छ । यस्तोमा उनीहरुको सञ्चार प्रणालीमा सुरक्षा निकायले समेत हरेक पल निगरानी राखिरहेका हुन्छन् ।

राष्ट्राध्यक्षलाई दिइने फोनमा देशका सम्बन्धित एजेन्सीले निर्धारित नियमअनुसार मोडिफाई गर्दछन् । डोनल्ड ट्रम्प राष्ट्रपति बन्नु अघि ह्वाइट हाउसमा राष्ट्रपतिको फोनका लागि कडा किसिमका नियम हुने गर्दथे ।

जस्तै, राष्ट्रपतिले आफ्नो फोनको क्यामेरा तथा माइक्रोफोनलाई प्रयोग गर्न पाउँदैन थे । यस बाहेक उनीहरुलाई दिइने फोनमा जीपीएस सपोर्ट समेत हुँदैनथ्यो ।

तर ट्रम्प कार्यकालमा यी सबै नियम ध्वस्त भए । अधिकतर देशका राष्ट्राध्यक्षले ब्ल्याकबेरीका फोन प्रयोग गर्दथे । तर कम्पनी बन्द भएपछि एप्पलको आईफोन पहिलो रोजाई बनिसकेको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०