close

प्लाज्मा दिन वा लिन चाहनुहुन्छ ? डाउनलोड गर्नुहोस् यो एप

टेकपाना टेकपाना

कात्तिक २२, २०७७ १६:३८

प्लाज्मा दिन वा लिन चाहनुहुन्छ ? डाउनलोड गर्नुहोस् यो एप

काठमाडौं । कोरोना संक्रमण भएर उपचाररत बिरामीलाई निको भएका व्यक्तिहरुको प्लाज्मा उपलब्ध गराउन मोबाइल एप तयार भएको छ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको व्यक्तिगत प्रयासमा प्लाज्मा एप सार्वजनिक भएको हो । 

हाल एन्ड्रोइडमा मात्रै उपलब्ध यो एप सार्वजनिक भएको ४ दिनमै एक हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् भने ४.७ को रेटिङ छ । तीन जना सफ्टवेयर इन्जिनियरको सहयोगमा एप तयार पारिएको पौडेलले जानकारी दिए । 

‘यस अवधिमा ६१ जना व्यक्तिले आफू प्लाज्मा दिनका लागि तयार रहेको भन्दै फारम भर्नुभएको छ । तर ११ जनालाई मात्र प्लाज्मा उपलब्ध गराउन सकिएको छ’ उनले भने, ‘उपलब्ध सबै प्लाज्मा उपयोगमा आउन भने सकेको छैन ।’

प्लाज्मा लिने र दिने व्यक्ति दुवैको रक्त समूह मिल्नुपर्ने हुन्छ । ओ पोजेटिभ ब्लड ग्रुप भएका २३ जनाको प्लाज्मा उपलब्ध भए पनि लिनेको संख्या भने ३ जना मात्र छ ।

तर बी पोजेटिभका लागि माग भए पनि उक्त समूहको प्लाज्मा भने पर्याप्त मात्रामा उपलब्ध नरहेको पौडेलले जानकारी दिए । हालसम्म बी पोजेटिभ रक्त समूहका दुई जनाले मात्र प्लाज्मा दान गर्न भ्याएका छन् ।

‘प्लाज्मा भएको मान्छे काठमाडौंमा छ । तर माग भने पोखरा र विराटनगरबाट आइरहेको छ,’ पौडेलले भने, ‘चाहिएको स्थानमा प्लाज्मा दिने व्यक्ति उपलब्ध नहुँदा समेत दुवैलाई जोड्न समस्या भएको छ ।’

एन्ड्रोइड एप डाउनलोड गरेर प्लाज्मा दिने र लिने व्यक्तिहरु आपसमा निःशुल्क रुपमा जोडिन सक्छन् । यसरी बिरामी रहेको स्थानमा पुगेर डोनरले आफ्नो प्लाज्मा दान गर्न सक्नेछन् ।

प्लाज्मा लिने/दिने कसरी ?  

  • सुरुमा यहाँ क्लिक गरी प्लाज्मा एप डाउनलोड गरी इन्स्टल गर्नुहोस् । 
  • अब एप खोल्नुहोस् र अगाडि बढ्नुहोस् । अनि सँगै देखिएको गुगलको लोगोमा दबाएर आफ्नो जिमेल आईडी छनौट गर्नुहोस् । 
  • अब एपले तपाईंको गुगलमा रहेको व्यक्तिगत सूचना र ईमेल एड्रेस हेर्ने अनुमति माग्नेछ । त्यसमा तल दायाँतर्फ रहेको अलाउ बटनमा ट्याप गर्नुहोस् ।
  • अब गुगल लोगोमा थिचेर अगाडि बढ्नुहोस् । त्यहाँ तपाईंले आठ वटा रगत समूह सहितका प्लाज्मा दिने र लिनेका लागि दुई वटा खण्ड देख्नुहुनेछ ।
  • जसमा तपाईं आफ्नो रगत समूहमा ट्याप गरी प्लाज्मा दिन वा लिन चाहनेको नाम, सम्पर्क नम्बर, अस्पताल र आवश्यक मात्रा जस्ता विवरण फेला पार्न सक्नुहुनेछ ।
  • साथै यो सूचीमा डोनर वा प्लाज्मा आवश्यक परेको बिरामीको रुपमा आफ्नो नाम उल्लेख गर्न चाहनुहुन्छ भने एपको तल बीच तथा दायाँ भागमा क्रमशः डोनर र प्लाज्मा लिन चाहनेका लागि फाराम दिइएको छ । जसमा तपाईंले आफू रहेको प्रदेश, जिल्ला, फोन नम्बर, रगत समूह, मिति आदि जस्ता विवरण भरेर रजिस्टर गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०