काठमाडौं । अब नेपालबाटै नेटफ्लिक्स तथा अमेजनको भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अन्तर्राष्ट्रिय डिजिटल सेवा तथा ईकमर्सको भुक्तानीको विषयलाई समेटेको हो ।
मौद्रिक नीतिको समीक्षा प्रतिवेदनको बुँदा नम्बर ६६ मा अनलाइन मार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रतिवेदनको अंश
केही दिन अघि मात्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अनलाइनमार्फत ५०० अमेरिकी डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने व्यवस्थाको विषयमा छलफल चलिरहेको बताएका थिए । मौद्रिक नीतिमै उक्त विषयले औपचारिक प्रवेश पाएसँगै राष्ट्र बैंक अनलाइनमार्फत हुने अन्तर्राष्ट्रिय भुक्तानीका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने गृहकार्यमा जुटेको छ ।
अब चाँडै नै अमेजन, नेटफ्लिक्स जस्ता सेवा तथा अन्तर्राष्ट्रिय ईकमर्स कम्पनीबाट सामान खरिद गर्दा त्यसको भुक्तानी नेपालबाटै गर्न सकिनेछ । हाल कानूनी व्यवस्था नहुँदा एकातर्फ नेपालबाट त्यस किसिमको भुक्तानी गैरकानूनी मानिँदै आएको छ भने नेपाली उपभोक्ताहरु विश्वस्तरिय सेवाको लाभ लिन बाट बञ्चित हुँदै आएका छन् ।