काठमाडाैं । गुगल असिस्टेन्ट एउटा यस्तो सफ्टवेयर हो, जसको माध्यमबाट तपाईंले एउटा कमाण्डकै सहयोगमा कुनै पनि कुराको जानकारी लिन सक्नुहुन्छ । यसमा कयौं यस्ता फिचरहरु छन्, जसको सहयोगमा इन्टरनेट सर्फिङ एकदमै सहज भइदिन्छ ।
तर अहिले पनि यस्ता कतिपय प्रयोगकर्ताहरु छन्, जसलाई गुगल असिस्टेन्टमा रहेका फिचरहरुको जानकारी हुँदैन । आज हामी तपाईंका लागि गुगल असिस्टेन्टका केही मुख्य फिचरहरुको बारेमा बताउँदै छौं ।
गुगल असिस्टेन्ट लेन्स
गुगल असिस्टेन्टको यो फिचर एकदमै विशेष छ । यसको सहयोगमा तपाईं कुनै पनि वस्तुको बारेमा जानकारी लिन सक्नुहुन्छ । यो फिचर प्रयोग गर्नका लागि तपाईंले सुरुमा गुगल असिस्टेन्टमा गएर गुगल लेन्सलाई कमाण्ड दिनुपर्ने हुन्छ । त्यसपछि मोबाइलको क्यामेरा खुल्छ ।
अब क्यामेरालाई उक्त वस्तुतर्फ फर्काउनुहोस्, जसको बारेमा तपाईंलाई जानकारी लिनुपर्नेछ । यति गरेपछि फोनको स्क्रिनमा कालो रंगका डटहरु (थोप्लाहरु) देखिन थाल्नेछन् । यसको अर्थ यो फिचरले वस्तुको विश्लेषण गर्न सुरु गरिसकेको छ । केही सेकेन्डमै तपाईंले उक्त वस्तुसँग सम्बन्धित जानकारीहरु प्राप्त गर्न सक्नुहुनेछ ।
गुगल इन्टरप्रेटर मोड
गुगल असिस्टेन्टको यो फिचरको सहयोगमा प्रयोगकर्ताले कुनै पनि भाषालाई अनुवाद गरेर आफ्नो भाषामा पढ्न र सुन्न सक्छन् । यो फिचर प्रयोग गर्नका लागि तपाईंले गुगल असिस्टेन्मा गुगल इन्टरप्रेटर मोडलाई कमाण्ड दिनुपर्ने हुन्छ ।
यतिगरेपछि ट्रान्सलेटर बक्स ओपन हुनेछ । यसबाट तपाईंले कुनै पनि भाषा अनुवाद गर्न सक्नुहुनेछ ।
गुगल असिस्टेन्टले नै पढिदिन्छ ताजा समाचार
यो फिचर प्रयोग गर्न एकदमै साधारण छ । यदि तपाईं गुगल असिस्टेन्टको सहयोगमा समाचारहरु सुन्न चाहनुहुन्छ भने सुरुमा गुगल असिस्टेन्ट एप खोल्नुहोस् र गुड मर्निङ भन्नुहोस् ।
यति गरिसकेपछि गुगलले तपाईंको सहर वा क्षेत्रको मौसमको जानकारीका साथै ताजा समाचारहरु पढेर सुनाउनेछ ।
अडियाे म्यासेज पठाउन सहयाेगी
गुगल असिस्टेन्टबाट अब अडियो म्यासेज पठाउन सकिने भएको छ, जुन एकदमै छिटो र छरितो छ । कुनै पनि म्यासेजिङ एप खोलेर माइक्रो फोन होल्ड गरिरहनुको साटो अब तपाईंले सजिलै गुगल असिस्टेन्टलाई म्यासेज कम्पोज गर्न आग्रह गरेर भ्वाइसबाट अडियो म्यासेज पठाउन सक्नुहुन्छ ।