close

नगरको डिजिटल प्रोफाइल बनाउँदै कमलामाई

टेकपाना टेकपाना

मंसिर २६, २०७७ १२:१८

नगरको डिजिटल प्रोफाइल बनाउँदै कमलामाई

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाले डिजिटल नगरप्रोफाइल बनाउने भएको छ । नगरपालिकाले डिजिटल प्रोफाइलका लागि घरधुरी सर्वेक्षण गरी विवरण सङ्कलन गर्न सुरु गरेको हो ।

नगरपालिकाका १४ वटै वडामा एक महिनाभित्र घरधुरी सर्वेक्षण गरी विवरण सङ्कलन गरेर ल्याउन ५१ जना सहजकर्ता परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको वास्तविक अवस्था अभिलेखीकरण गरी आगामी दिनमा विकास निर्माणका योजना तर्जुमा गर्न सजिलो होस् भनेर प्रोफाइल बनाउन लागिएको नगरपालिकाका सूचना अधिकारी निर्मल लामाले जानकारी दिए ।

घरधुरी सर्वेक्षण गरी विवरण सङ्कलन गर्न जनसङ्ख्या अनुसार एउटा वडामा दुईदेखि छ जनासम्म सहजकर्ता परिचालन गरिएको र उनीहरुलाई अनलाइनमार्फत विवरण सङ्कलन गर्न लगाइएको उनले बताए ।

नगरपालिकाको जनसंख्या, आर्थिक अवस्था, पारिवारिक विपन्नना. स्वास्थ्य अवस्था, जग्गाको स्वामित्व लगायतका विषय डिजिटल नगर प्रोफाइलमा समेटिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४