close

आफूसँग नग्न तस्वीर रहेको भन्दै फेक आईडीबाट महिलालाई धम्क्याउने २ जना पक्राउ

टेकपाना टेकपाना

पुस ३, २०७७ १४:३२

आफूसँग नग्न तस्वीर रहेको भन्दै फेक आईडीबाट महिलालाई धम्क्याउने २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरोले फेक ईमेल तथा फेसबुक आईडी बनाएर महिलालाई अश्लील सन्देश तथा तस्वीर पठाउने र यौन उत्पिडन एवम् हैरानी दिने व्यक्तिहरुलाई पक्राउ गरेको छ । ब्युरोले यस किसिमको गतिविधिमा संलग्न दुई जनालाई काठमाडौं र चितवनबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ ७ गल्फुटार बस्ने बिराटनगरका ३३ वर्षीय सुमन रेग्मीलाई ब्यूरोको टोलिले बिहीबार पक्राउ गरेको थियो । उनले फेक ईमेल आईडी बनाएर परिचित महिलासाथिलाई आफूसँग अर्धनग्न तथा नग्न तस्वीर रहेको र उक्त तस्वीर सार्वजनिक गरिदिने भन्दै धम्क्याउने गरेको बताइएको छ ।

आफूलाई ७० लाख रुपैयाँ नदिएमा तस्वीरहरु सार्वजनिक गरिदिने भन्दै रेग्मीले यौन उत्पिडन दिने, अनलाइन यौन सम्पर्कका लागि बाध्य पार्ने लगायतको कार्य गरेको ब्यूरोले जनाएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीले काठमाडौं जिल्ला अदालतको पक्राउ अनुमतिमा उनलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी चितवनबाट पक्राउ परेका माडी नगरपालिका ६ कल्याणपुरका ३५ वर्षीय थमबहादुरले समेत त्यस्तै किसिमको अपराध गरेको बताइएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाएर नजिकको नातापर्ने महिलालाई यौनजन्य तथा अश्लील सन्देश र तस्वीर पठाउने, यौन अश्लीलतायुक्त अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने, हैरानी दिने लगायतका कार्य गरेको ब्यूरोले जनाएको छ । विश्वकर्मा विरुद्ध समेत विद्यूतीय कारोबार ऐन अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४