close

एप्पललाई टेस्ला बेच्न खोजेँ, तर टिम कुकले भेट्नै मानेनन् : एलोन मस्क

टेकपाना टेकपाना

पुस ९, २०७७ १७:५७

एप्पललाई टेस्ला बेच्न खोजेँ, तर टिम कुकले भेट्नै मानेनन् : एलोन मस्क

काठमाडौं । केही दिनअघि एप्पलले प्रोजेक्ट टिटान अन्तर्गत आफ्नै विद्युतीय कार उत्पादनको तयारीमा जुटेको खबर रोयटर्समा प्रकाशित भयो । त्यसलगत्तै मंगलबार फोर्ब्सको सूचीमा बिल गेट्सलाई पछि पार्दै दोस्रो धनाढ्य बनेका एलाेन मस्कले एउटा रोचक प्रसङ्ग ट्वीट गरे । 

एलाेन मस्कले सो ट्वीटमा यदि टेस्ला कम्पनीको सुरुवाती अप्ठ्यारा दिनमा एप्पलले सेल अफर स्वीकार गरेको भए आज विद्युतीय कारको सिङ्गो कम्पनी नै एप्पलको मातहतमा हुने लेखेका थिए । तर एप्पलका सीईओ टिम कुकले मस्कसँग भेट गर्न नै नमानेपछि टेस्ला आफ्नै स्वामित्वमा बसेको थियो । 

हाल एप्पल छुट्टै स्तरको ब्याट्री प्रविधिको प्रयोग आफ्नो नयाँ कारमा गरी मानिसहरुलाई आकर्षित गर्ने योजनामा छ । जसरी कुनै समय एप्पलका संस्थापक स्टिभ जब्सले पहिलो आईफोनबाट आकर्षित गर्न सफल भएका थिए । 

एप्पलले ठूलो प्याक क्षमता र लामो रेन्ज प्रदान गर्न सक्ने पृथक ‘मोनोसेल’ डिजाइन ब्याट्री प्रयोग गर्ने योजना लिएको छ । लिथियम आयन ब्याट्रीको तुलनामा तापप्रति धेरै रक्षात्मक रहन सक्ने लिथियम आयन फस्फेटको एक्स्प्लोरमा हाल एप्पल लागेको छ । 

एप्पलको स्मार्टफोन व्यवसायको तुलनामा कार व्यवसायले मार्जिन दिने कुरामा हाल लगानीकर्ताहरु ढुक्क छैनन् । तर रोयटर्सको उक्त लेख अनुसार एप्पलको ब्याट्री डिजाइनले ब्याट्री निर्माणको शुल्कलाई भारी कटौती गरी आजको प्रविधिमा व्यापक रेन्ज ल्याउनेछ । 

टेस्ला आफ्नो पहिलो मोडल थ्री प्रोग्राम सार्वजनिक गर्दा ताका एकदमै कठिन अवस्था थियो । तब मस्कले एप्पलका सीईओ टिम कुकलाई टेस्लाको हालको बजार भ्याल्यूको १० प्रतिशत मूल्यमा नै सेल्स अफर गरेका थिए । 

टेस्लाले २०१७ को मध्यतिर ३५ हजार डलरको प्रारम्भिक मूल्यसहित मोडल थ्री सार्वजनिक गरेको थियो । 

तर कम्पनीले सो मोडलमा आफ्नो प्रारम्भिक उत्पादन लक्ष्य पुरा गर्न सकेन । यद्यपि दुई वर्षपछि मोडल थ्री उत्कृष्ट बिक्री हुने विद्युतीय बाहनमा पर्न सफल भयो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०