काठमाडौं । इन्जिनियरिङ संकायका विद्यार्थी जयन्द्रराज शाही एक वर्षअघि परीक्षा दिने तयारीमा थिए । आफ्नो पाठ्यक्रमका पुस्तकहरु साह्रै महङ्गा । पुराना पुस्तक खोजे, तर पाएनन् । त्यसैले नयाँ पुस्तक किने ।
अर्को वर्ष पनि फेलै हुन्छु भन्ने साेचेर परीक्षा सकेलगत्तै पुस्तक बिक्री गरिहाल्न पनि सकेनन् । ‘त्याे बेला पुस्तक कतै भाडामा दिन पाए नि हुन्थ्यो जस्तो लाग्थ्यो,’ जयन्द्र भन्छन् ।
तर रेन्टमा लिने मान्छे कता खोज्नु । कतिलाई त्यो पुस्तकको अत्यावश्यक पनि थियो, तर यति धेरै मान्छेमा आफ्नो बुक चाहिएको मान्छे कताबाट खोज्नु । समस्या पर्यो उनलाई । यसैले पुस्तक शेयर गर्न मिल्ने कुनै प्लेटफर्म निर्माण गर्ने हुटहुटी उनको मनमा चल्यो ।
यसैबीच जयन्द्रले रोशन पो शाक्य र नितान्त अधिकारीको साथ पाए । साथै के.एन.के. टेक कम्पनीको पनि साथ मिल्याे ।
एक वर्षको मेहेनतपछि यसै साता यी युवाको टिमले बुक शेयर एप सार्वजनिक गरेको छ ।
त्यसो त नेपालमा पुस्तक किनबेचका लागि प्लेटफर्म नभएका होइनन् । तर बुक शेयर ती प्लेटफर्मभन्दा पृथक पुस्तक किनबेच, भाडामा लेनदेन गर्नदेखि नि:शुल्क गिभअवेसम्म गर्न मिल्ने नेपालको पहिलो प्लेटफर्म भएको जयन्द्रकाे दाबी छ ।
बुक शेयर टिम
‘पुस्तकका कतिपय सौखिनसँग पुस्तक किन्ने पैसा हुँदैन । यस्तोमा ५०/६० रुपैयाँमा मात्र पुस्तक भाडामा लिन पायो भने पनि उनीहरु धेरै लाभान्वित हुन्छन्,’ जयन्द्र भन्छन् ।
पुराना पुस्तकको लेनदेन गर्ने बुक शेयर एपको सार्वजनिक भएको एक साता पनि नबित्दै एन्ड्रोइड आईओएसतर्फ सन्ताेषजनक डाउनलोड भइरहेकाे छ ।
बुक शेयरको प्रयोगकर्ता जोकोही हुन सक्छन् । ती प्रयोगकर्ताहरुले बुक किनबेचको दोहोरो भूमिका निभाउन सक्छन् । यो वास्तवमा पुराना पुस्तकहरुको एउटाको एउटा अनलाइन बजार पनि हो ।
हाल इन्जिनियरिङबाट ड्रपआउट गरेर पुस्तक किनबेचको प्लेटफर्मबाट स्टार्टअपमा छिरेका जयन्द्रले बुक शेयरबाट हरेक पुस्तक बिक्री तथा भाडाबाट १० प्रतिशत कमिसन चार्ज लिइरहेको बताउँछन् । यहाँ पुस्तक राख्न वा किन्नलाई अतिरिक्त शुल्क कसैले पनि तिर्नु नपर्ने उनको भनाइ छ ।
प्लेटफर्ममा सामान्य पाठ्क्रमका पुस्तकदेखि बाहिरी पुस्तकहरु सबै राख्न मिल्ने उनले बताए । साथै मूल्य पनि प्रयोगकर्ता आफैले तोक्न मिल्ने व्यवस्था एपमा छ । तर कुनै पनि नामबाट एपमा पुस्तक सर्च गर्दा सबै प्रयोगकर्ताले राखेको पुस्तक र मूल्य देखाउने हुँदा आफूलाई सस्तो लाग्ने पुस्तक लिन सकिने उनले बताए ।
प्रयोगकर्ताले कुन पुस्तक राख्ने कुन पुस्तक हटाउने कहिलेसम्म भाडामा दिने सबै कुरा आफै निर्धारण गर्नसक्ने उनले बताए ।
एप सार्वजनिक गरेको एक हप्ता नपुग्दै डाउनलोड तथा इन्क्वाइरीहरु राम्रो भइरहेको र मार्केटिङ पनि आफूहरुले गरिरहेको उनले बताए ।
कम्पनीको युजरबेस र पुस्तकको माग बढ्दै गए आगामी दिनमा २० देखि ३० रुपैयाँसम्मको डेलिभरी चार्जमा पुस्तक उपलब्ध गराउने योजना टिमकाे रहेकाे उनले सुनाए ।
एप डाउनलाेड गर्न एन्ड्राेइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।