काठमाडौं । शर्ट भिडियो प्लेटफर्म टिकटकको बढ्दाे प्रयोगसँगै बजारमा विभिन्न कम्पनीले उस्तै खालका प्लेटफर्म सार्वजनिक गरिरहेका छन् । अझ, चिनियाँ एप टिकटकमाथि कतिपय देशले लगाएको प्रतिबन्धका कारण एउटै फिचर भएको नयाँ एप बनाउनेको संख्या बढिरहेको छ ।
यसैबीच फेसबुकको इन्स्टाग्राम, युट्युब लगायतका ठूला कम्पनीले पनि त्यस्तै प्लेटफर्म बनाएका छन् । इन्स्टाग्रामले विश्वव्यापी नै यो फिचर उपलब्ध गराएको भएता पनि युट्युबले आफ्नो छोटो भिडियो एप ‘शर्ट्स’को टेस्टिङका लागि भारतमा उपलब्ध गराएको छ ।
विस्तारै अन्य मुलुकमा पनि विस्तार गर्ने तयारीमा रहेको युट्युबको शर्ट्स एप प्रयोगकर्ताबीच लोकप्रिय बन्दै गएको छ । युट्युबकी सीईओ सूसन ओजोसीकीका अनुसार एपले हाल दैनिक साढे ३ अर्ब बढी भ्युज पाइरहेको छ ।
हाल बेटा भर्सनमा सार्वजनिक गरिएको उक्त एप यो वर्षभित्रै विश्वका कयौं देशमा पूर्ण रुपमा रोलआउट गरिने समेत उनले बताएकी छन् ।
त्यतिमात्रै नभएर शर्ट्सलाई युट्युबसँग जोड्ने तयारी पनि भइरहेको उल्लेख छ । यदि त्यो भएको खण्डमा प्रयोगकर्ताले युट्युबमै शर्ट्स एपका भिडियो देख्न पाउनेछन् ।