काठमाडौं । पछिल्लो समय देशका हरेक क्षेत्रमा प्रविधिले स्थान पाइरहेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन कारोबारले पनि सोही अनुरुप प्राथामिकता पाइरहेको छ ।
त्यसैको प्रतिफल होला, राष्ट्र बैंकले पनि पछिल्लो समय डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने खालका निर्णय गरिरहेको छ ।
जसले गर्दा आज तरकारी बजारमा क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न सकिने भएको छ । त्यति मात्रै हाेइन, अब सार्वजनिक सवारी साधनमा पनि आधुनिक प्रविधिको प्रयोग हुने भएको छ ।
नगदरहित भाडा भुक्तानीलाई प्रोत्साहन गर्ने योजनाका साथ राष्ट्र बैंकले कार्ड भुक्तानी सेवाको लागि यही माघ २० गते फिनटेक इन्टरनेशनलाई अनुमतिपत्र प्रदान गरेकाे छ ।
राष्ट्र बैंकले फिनटेकलाई भुक्तानी सेवा प्रदायकको रुपमा यात्रा कार्ड र यात्रा एप सञ्चालन गर्न अनुमति दिएको हो ।
योसँगै उक्त कम्पनीले सार्वजनिक सवारी साधनमा कार्डमार्फत नगदरहित भुक्तानी गर्ने तयारी अघि बढाएको फिनटेकका चिफ कमर्श अफिसर अभिनव भट्टराईले बताए ।
भट्टराइका अनुसार अब कम्पनीले पहिलो चरणमा उपत्यकाभित्रका सार्वजनिक यातायातमा कार्डमार्फत भुक्तानी गर्ने मिल्ने गरी भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने छ । जसको सुरुवात फागुन १ गतेबाटै हुने भट्टराई बताउँछन ।
‘हामी फागुन १ देखि नै उपत्यकामा यो सेवा सुरु गर्ने छौं,’ भट्टराई भन्छन, ‘सुरुवात गर्दा तीन सय भन्दा बढी सार्वजनिक यातायात कार्डमार्फत भुक्तानी गर्न सकिने प्रणालिमा जोडिनेछन् । भने, सेवा सुरु भएको ६ महिनामा १ हजार र एक वर्षमा ५ हजार सार्वजनिक यातायात जोड्ने योजना कम्पनीको रहेको छ ।’
सुरुवात बाडभञ्याङ–मुलपानी, चत्रपथ परिक्रमा, थली–खसिबजार, चपली—मातातीर्थ, भंगाल–नयाँ बसपार्क, नाला—रत्नपार्क र मातातीर्थ—रत्नपार्क गरी उपत्यकाका सात रुटमा चल्ने बसहरुबाट हुनेछ ।
उक्त रुटका ३० स्थानहरुमा यात्रु सेवा तथा सहायता केन्द्र (अस्थायी बुथ) स्थापना गरी ‘यात्रा कार्ड’ वितरण गरिने भट्टराईले बताए । उनका अनुसार उक्त कार्डका लागि ५० तिर्नुपर्नेछ । साथै कार्डमा २५ हजार रुपैंयाँसम्म राख्न सकिनेछ ।
यसरी राखिएको पैसा सकिएको खण्डमा बसको सहचालकले नै कार्डमा पैसा लोड गरिदिने, कसैलाई नयाँ कार्ड आवश्यक परेको खण्डमा कार्ड उपलब्ध गराउने सम्मका काम हुने कम्पनीले बताएको छ ।
बसको सहचालकको हातमा रहेको मसिनमा चढ्दा र ओर्लदाँ कार्ड घोटेको भरमा गाडीको भाडा भुक्तानी गर्न सकिने छ । चढ्दा कहाँबाट चढ्यो, ओर्लदाँ कहाँ ओर्लियो र त्यसको भाडा कति लाग्यो भनेर मेसिन आफैले अध्ययन गरी भाडा काट्नेछ ।
त्यसरी गरिने कारोबार १ सेकण्ड भित्रै हुने उनी बताउँछन् । भन्छन, ‘यो प्रक्रिया झन्झटिलो भएको खण्डमा यात्रुका साथै बसमा पनि ओर्लने समयमा भीड हुने भएकाले कार्ड छाेएको भरमा भुक्तानी हुने सिस्टम बनाएका छौं ।’
विद्यार्थी, जेष्ठ नागरिक तथा फरक क्षमता भएका यात्रुहरुको हकमा कम्पनीले सहुलियतयुक्त छुट्टै कार्ड नै उपलब्ध गराउने छ ।
भट्टराईका अनुसार कम्पनीले सुरुवाती चरणमा बसमा यो खालको सेवा सुरु गर्ने तयारी भएता पनि त्यसपछि क्रमशः माइक्रोबस, ट्याम्पाे र विस्तारै देशभर रहेका सार्वजनिक सवारी साधानमा यो सिस्टम जडान गर्दै जानेछ ।
यसले पैसा बोकेर हिँड्नुपर्ने झन्झटका साथै खुद्रा पैसा नभएर समस्या पर्ने, फिर्ता आएको एक/दुई रुपैयाँका सिक्का हराएर जाने खालका समस्याको समेत अन्त्य गरिदिने छ ।
त्यतिमात्रै नभएर सार्वजनिक यातायातमा हाल सरकारले तोकेको भाडादर भन्दा बढी लिने, फिर्ता आउनु पर्ने पैसा खूल्ला छैन भनी सहचालकले नदिने खालका समस्या पनि छन् ।
सवारी धनीले पनि भएको आम्दानीको पूर्ण जानकारी नपाउने पनि समस्या रहेको छ । यस्ता सम्पूर्ण समस्याको समाधन यात्रा कार्ड हुने भट्टराइ बताउँछन् । भट्टराइका अनुसार यो प्रविधि जडानपछि दिनभर भएको कारोबार सोझै बैंक खातामा जम्मा हुनेहुँदा पारदर्शी समेत हुनेछ ।
यसले अन्तत: नेपाल सरकारको डिजिटल नेपालको परिकल्पनालाई साकार गर्न समेत ठूलो मद्दत पुर्याउने छ । उनका अनुसार कम्पनीले ६ महिना पश्चात ‘यात्रा’ नामक एप पनि सार्वजनिक गर्दैछ । उक्त एपमा अनलाइन बस टिकट बुकिङ र बस ट्रयाकिङ सिस्टम पनि उपलब्ध हुनेछ ।