काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था (नासा) को मंगल ग्रह अभियान सफल भएको छ । लामो समयको परीक्षणपश्चात पहिलो पटक नासाले यो सफलता हात पारेकाे हो । यस अभियान अन्तर्गत पर्सिभेरन्स रोभर यान शुक्रबार मंगल ग्रहमा अवतरण गरेकाे छ ।
नासाका अनुसार उक्त यान नेपाली समय अनुसार शुक्रबार बिहान २:४० मा मंगल ग्रहको सतहमा अवतरण गरेको थियाे । मंगल ग्रहमा अवतरण भएसँगै यानले पहिलो तस्वीर समेत पठाएको छ ।
पर्सिभेरन्स रोभर यानले पठाएको पहिलो तस्वीर।
मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने उद्देश्यका साथ अघि बढाइएको उक्त अभियान १० वर्षअघि सुरु भएको थियो । अभियानले यति बेला बल्ल प्रतिफल पाएको छ ।
नासाका अनुसार उक्त यान जेजेरो क्रेटरमा अवतरण गरेको छ । यानले उक्त क्रेटरको बारेमा समेत जानकारी पठाउने उल्लेख गरिएको छ ।
उसले अर्को दुई वर्ष स्थानीय चट्टानहरु ड्रिलिङ गर्ने, साथै त्यहाँ विगतको जीव प्रमाणबारे खोजी गर्नेछ ।