काठमाडौं । भारत सरकारले सरकारी कर्मचारीलाई ह्वाट्सएपको विकल्पका रुपमा ‘सन्देश’ नामक एप उपलब्ध गराएको छ । ह्वाट्सएपजस्तै एपको रुपमा भारतको नेश्नल इन्फर्मेटिक सेन्टर (एनआईसी) ले याे एप सार्वजनिक गरेको हो ।
ह्वाट्सएपले फेसबुकसँग प्रयोगकर्ताको डेटा सार्वजनिक गर्ने खालको नयाँ नीति जारी भएसँगै भारतमा ह्वाट्सएपविरुद्ध आवाज उठिरहेको छ । भारत सरकारले पनि ह्वाट्सएपलाई आफ्नो नयाँ नीतिबाट पछि हट्न आग्रह गरिसकेको छ ।
ह्वाट्सएपको विकल्पका रुपमा सिंगल, टेलिग्रामजस्ता एपको प्रयोग बढिरहेको छ । यसरी ह्वाट्सएपले व्यक्तिगत विवरण फेसबुकसँग शेयर गर्ने नीति ल्याएसँगै भारतीय सरकारले आफ्नै सुरक्षित एप सार्वजनिक गरेको हो ।
एनआईसीले आफूसँग यसअघि उपलब्ध इन्स्ट्यान्ट म्यासेजिङ एपलाई परिमार्जन गर्दै ‘सन्देश’ सार्वजनिक गरेको हो ।
यो एप हाल डाउनलोडका लागि उपलब्ध नभएता पनि यो एपको ‘एपीके फाइल’ उपलब्ध छ । उक्त फाइल एन्ड्रोइड र आईओएस दुवैका लागि एनआईसीको वेबसाइटमा उपलब्ध छ ।
यस एपमा लगइन गर्नका लागि प्रयोगकर्तालाई सरकारी कर्मचारीको ईमेल आईडी आवश्यक पर्ने उल्लेख छ । आईडी हुँदैमा पनि सहजै च्याट सुरु गर्न भने सकिने छैन ।
त्यसका लागि सिस्टमले लगइन गर्ने व्यक्ति सरकारी कर्मचारी हो कि होइन भनेर भेरिफाई गरेपछि मात्रै एपबाट च्याट गर्न सकिने बताइएकाे छ ।