close

६ वर्षमा एप्पलले किन्यो १०० स्टार्टअप कम्पनी

टेकपाना टेकपाना

फागुन १३, २०७७ १३:७

६ वर्षमा एप्पलले किन्यो १०० स्टार्टअप कम्पनी

काठमाडौं । एप्पलले बितेको ६ वर्षमा करिब एक सय कम्पनीलाई अधिग्रहण गरेकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले खुलासा गरेका छन् ।

मंगलबार आयोजित एप्पलको शेयधनी बैठकमा कम्पनीले प्रत्येक ३ देखि ४ हप्ताको बीचमा नयाँ-नयाँ कम्पनीलाई अधिग्रहण गर्ने गरेको उनले बताए । प्रविधि र प्रतिभाशाली संसाधनलाई प्राप्त गर्न अधिग्रहणहरु गरिएकाे तर्क उनले गरे ।

पछिल्लो दशकमा एप्पलले गरेको सबैभन्दा ठूलो अधिग्रहण भनेको र्‍यापर तथा प्रोड्युसर डक्टर ड्रेले संस्थापन गरेको हेडफोन निर्माता कम्पनी बिट्स इलेक्ट्रोनिक्सको तीन अर्ब डलरको स्वामित्व खरिद हो ।

यस्तै अर्को हाई प्रोफाइल अधिग्रहण २०१८ मा ४० करोड डलरमा भएको सफ्टवेयर कम्पनी साजामको थियो ।

सामान्यत एप्पलले साना-साना प्रविधि कम्पनीहरुको स्वामित्व खरिद गरेर उनीहरुको नवप्रवर्तनलाई आफ्नो उत्पादन तथा वस्तुहरुमा प्रयोग गर्ने गरेको छ ।

एउटा उदाहरण भनेको इजरायली थ्रीडी सेन्सिङ कम्पनी प्राइमसेन्स हो, जसको प्रविधिलाई एप्पलले आफ्नो फेसआईडीमा प्रयोग गरेको छ ।

एप्पलले ब्याक इण्ड प्रविधिमा पनि भारी लगानी गरेको छ ।

यसैबीच एप्पलले अहिलेसम्मकै सबैभन्दा धेरै त्रैमासिक आम्दानी गरेको पनि बताएको छ । उसले २०२१ को जारी पहिलो त्रैमासिकमा १११ अर्ब ४० करोड डलरको आम्दानी गरेको छ ।

एप्पलको अधिग्रहणको सूचीलाई नै हेर्ने हो भने त्यो निकै विविधतापूर्ण देख्न सकिन्छ । उसले बितेका केही वर्षमा एआई कम्पनीदेखि, भर्चुअल रियालिटी इभेन्ट बिजनेस हुँदै पेमेन्ट स्टार्टअप र पोडकास्ट व्यवसाय धेरैलाई अधिग्रहण गरिसकेको छ ।

२०१९ मा उसले ड्राइभ एआई खरिद गर्‍यो, यो एउटा स्वचालित कार कम्पनी थियो । जसबाट उसले आफ्नो स्वचालित प्रविधिलाई मजबुत बनाउने काम गर्‍यो ।

यस्तै २०१६ मा उसले चिनियाँ राइड शेयरिङ सेवा डीडी चुक्सिङ्कको १ अर्ब डलरको शेयर खरिद गर्‍यो ।

डिप पकेट

वास्तवमा एप्पल एउटा नाफादायी शक्तिशाली संस्था हो, जसको कुल सम्पत्ति २० खर्ब डलरभन्दा धेरै छ । यसैले कम्पनीहरुलाई अधिग्रहण गर्न उसँग प्रशस्तै पैसा छ ।

बितेको ६ वर्षमा सयवटा कम्पनी अधिग्रहण गरेपनि आफूले के खरिद गर्ने भन्ने कुरामा एप्पल एकदमै चनाखो र चुनिन्दा छ ।

उदाहरणकै लागि हालै टेस्लाका संस्थापक एलन मस्कले २०१३ मा कम्पनी संघर्षरत रहँदा आफूले टिम कुकलाई कम्पनी किन्न प्रस्ताव गरेको विगत सुनाए । तर टिम कुकले त्यसबेला उनकाे प्रस्तावलाई अस्वीकार गरे ।

तर एप्पलले जति धेरै कम्पनी खरिद गरे पनि उसको अधिग्रहणको मूल्य भने प्रतिस्पर्धी कम्पनीहरुको तुलनामा कम नै छ ।

माइक्रोसफ्टले लिङ्कडिन खरिद गर्न २६ अर्ब डलर तिरेको थियो । यस्तै अमेजनले होलसेल फुडलाई १३ अर्ब ७० करोड डलरमा किनेको थियो भने फेसबुकले ह्वाट्सएपलाई १९ अर्ब डलरमा खरिद गरेको थियो ।

तर एप्पलका १० वटा ठूला अधिग्रहणको मूल्यलाई एकीकृत गर्ने हो भने पनि यी प्रतिस्पर्धीहरुको एकल अधिग्रहणको मूल्य भन्दा कम नै छ ।

-बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४