काठमाडौं । भिडियो कन्फ्रेन्सिङ एप कम्पनी जुमका संस्थापक एरिक यूआनले करिब ६ अर्ब डलर (७ खर्ब ६ अर्ब रूपैयाँ) बराबरकाे एक करोड ८० लाख कित्ता शेयर अरुको नाममा ट्रान्सफर गरिदिएको रेगुलेटरी फाइलिङमा देखिएको छ ।
जुमका कार्यकारी प्रमुखसमेत रहेका यूआनले गत हप्ता कम्पनीको करिब ४० प्रतिशत शेयर अरुको नाममा नामसारी गरिदिएका हुन् । उक्त शेयर गत हप्ता केही लाभग्राहीहरुलाई उपहारको रुफमा प्रदान गरिएको हो ।
पछिल्लो समय कोभिड १९ महामारी कारण विश्वभर लकडाउन हुँदा जुमको अत्याधिक प्रयोगले यूआनको निजी सम्पत्ति ह्वात्तै बढेको थियो ।
यूआनले जुमलाई २०११ मा सुरु गरेका थिए र २०१९ मा अमेरिकी शेयर बजारमा दर्ता गरेका थिए । फोर्ब्सका अनुसार हाल उनीसँग १३ अर्ब ७० करोड डलर सम्पत्ति छ ।
जुमका प्रवक्ताका अनुसार उक्त नाम सारी यूआनको स्टेट प्लानिङ प्राक्टिससँग सम्बन्धित छ । एरिक यूआन र उनकी श्रीमतीको ट्रस्टको नियम अनुसार सो शेयर वितरण भएको थियो ।
पछिल्लो १२ महिनामा जुमको शेयर करिब तीनगुणाले बढेको छ र कम्पनीको बजार मूल्य पनि करिब सय अर्बको नजिक छ ।
तर आफ्नो करिब एक तिहाई शेयर अरुको नाममा नामसारी गर्ने यूआनको निर्णयले अहिले सबैलाई अचम्मित तुल्याएको छ ।
तर यूआनको शेयरको प्रापक को हुन् भन्ने कुरामा हालसम्म कुनै स्पष्ट भएको छैन ।