काठमाडौं । उच्च माध्यमिक तहमा शिक्षा तथा मानविकी संकाय लिएर पढ्ने विद्यार्थीहरुका लागि प्राविधिक विषय अध्ययन गर्ने विकल्प एकदमै कम हुन्छन् । सीमितमध्ये एउटा राम्रो विकल्प भनेको बीएड ईन आईसीटी पनि हो ।
याे शैक्षिक कार्यक्रमलाई कतिपयले बीएड आईसीटी, बीएड आईसीटीई, बीआईसीटीई लगायतका नामले पनि प्रचार गर्ने गर्छन् । त्रिभुवन विश्वविद्यालयले २०६३ मा पहिलोपटक शिक्षा शास्त्र संकायअन्तर्गत स्नातक तहमा देशका पाँचवटा आङ्गिक क्याम्पस र ८ वटा सामुदायिक क्याम्पसबाट याे कार्यक्रम सुरु गरेको थियो ।
पछि २०७० देखि बीएड ईन आईसीटी कार्यक्रम महेन्द्र रत्न क्याम्पस ताहाचलमा समेत सुरु भयो । सोही वर्षदेखि उक्त विषयको अध्यापन सानोठिमी क्याम्पसमा स्नातकाेत्तर तहमा सुरु भयो ।
हाल यो विषय त्रि.वि. अन्तर्गतका ९ वटा आङ्गिक र ८ वटा सामुदायिक क्याम्पसहरुमा अध्ययन अध्यापन भइरहेको त्रिवि केन्द्रीय विभाग अन्तर्गत बीएड ईन आईसीटी कार्यक्रमका संयोजक तथा सानोठिमी क्याम्पस भक्तपुरका आईसीटी विभागका प्रमुख रेगबहादुर भण्डारी बताउँछन् ।
बीएड ईन आईसीटीले विद्यार्थीहरुलाई आधुनिक शैक्षिक प्रणाली र कम्प्युटर साइन्ससँग परिचित गराउँछ । विद्यार्थीहरुले यसमा सूचना तथा सञ्चार क्षेत्रका प्राविधिक सीप तथा ज्ञान जस्तै प्रोग्रामिङ, नेटवर्किङ, डेटाबेस व्यवस्थापन, एआई, शिक्षाका आधारभूत प्रविधि तथा विद्युतीय सुशासन लगायत शैक्षिक मनोविज्ञान, शिक्षण पद्दति (टिचिङ पेडागोजी) जस्ता शिक्षा संकायका आधारभूत ज्ञान पनि पाउन सक्छन् ।
बीएड ईन आईसीटी अध्ययन गर्न चाहने विद्यार्थीहरुले शिक्षा शास्त्र संकायबाट लिइने इन्ट्रान्स परीक्षा भने उत्तीर्ण गर्नुपर्छ । ४ वर्ष तथा ८ सेमेस्टरको यो प्रोग्राममा १३२ क्रेडिट आवरको कोर्ष समावेश छ ।
जसमा १२ क्रेडिट आवर सञ्चार तथा सीपमूलक कोर्षहरु, २४ क्रेडिट आवर एजुकेसनल कोर कोर्ष, ६० क्रेडिट आवर स्पेसलाइज मेजर सब्जेक्ट, ३० क्रेडिट आवर सामान्य विषय र ९ क्रेडिट आवर टिचिङ इन्टर्नशिप तथा प्राक्टिकल रहेका छन् ।
उक्त क्रेडिट आवरले अन्तर्राष्ट्रियस्तरमा पनि सजिलै मान्यता पाउने उनी बताउँछन् । यो विषय पढ्न त्रिविका ९ आङ्गिक क्याम्पसहरुमा २० देखि ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ भने अन्य सामुदायिक क्याम्पसहरुमा भने ३० हजार रुपैयाँदेखि ४५ हजार रुपैयाँभन्दा माथि लाग्छ ।
बीएड ईन आईसीटीको स्कोप अन्य अध्ययन संस्थान तथा संकायमा भन्दा फरक र बढी रहेको संयोजक भण्डारी बताउँछन् । ‘बीएड ईन आईसीटी अध्ययन गरेका विद्यार्थीहरुले माध्यमिक तहमा कम्प्युटर विज्ञान पढाउनका लागि शिक्षा सेवा आयोगबाट शिक्षण लाइसन्स प्राप्त गर्न सक्छन् । यस्तो किसिमको व्यवस्था अन्य संकाय वा संस्थामा छैन,’ उनले भने ।
प्राविधिक विषय पढ्न चाहने अधिकांश विद्यार्थीहरु विज्ञान प्रविधि तथा इन्जिनियरिङ संकायतिर जान्छन् । शिक्षा संकाय अन्तर्गत भएकाले बीएड ईन आईसीटीमा विद्यार्थीहरुको रुचि कत्तिको होला भन्ने धेरैको जिज्ञासा हुनसक्छ ।
विभागीय प्रमुख भण्डारी बीएड ईन आईसीटीमा विद्यार्थीहरुको रुचि र उपस्थिति उत्साहजनक रहेकाे बताउँछन् । ‘निजी तथा सामुदायिक क्याम्पसमा जस्तो विज्ञापन नगर्दा पनि त्रिविका आङ्गिक क्याम्पसहरुमा भर्ना हुने विद्यार्थीहरुको संख्या उल्लेखनीय रुपमा वृद्धि भइरहेको छ,’ उनले भने ।
भण्डारी अगाडि भन्छन्, ‘कुन संकाय वा अध्ययन संस्थान ठूलो वा सानो, प्राविधिक धार वा गैरप्राविधिक धारको भन्ने कुरा प्रमुख होइन । प्रमुख कुरा भनेको के कति सेमेस्टर, कति क्रेडिट आवर, प्रोेजेक्ट वर्क र इन्टर्नशिप समावेश गरिएको छ कि छैन भन्ने कुराले फरक पार्छ ।
बीएड ईन आईसीटीमा यी सबै कुरा समावेश छन् । साथै यसमा एक्काइसौं शताब्दीको ज्ञान र सीप पनि सिकाइन्छ ।’
क्याम्पस र विद्यार्थी काेटा
| क्र.स. | क्याम्पस | विद्यार्थी काेटा |
| १. | सानोठिमी क्याम्पस, भक्तपुर | १२० |
| २. | बुटवल मल्टिपल क्याम्प्स, रुपन्देही | ८० |
| ३. | डढेल्धुरा मल्टिपल क्याम्पस, डडेल्धुरा | ४० |
| ४. | सिराह क्याम्पस, सिराह | ४० |
| ५. | सुर्खेत शिक्षा क्याम्पस, सुर्खेत | ८० |
| ६. | महेन्द्र रत्न क्याम्पस, काठमाडौं | ८० |
| ७. | बालकुमारी क्याम्पस, चितवन | ८० |
| ८. | आदिकवि भानुभक्त क्याम्पस, तनहुँ | ४० |
| ९. | हनुमन्ते क्याम्पस, दाेलखा | ४० |
| १०. | जनज्योति बहुमुखी क्याम्पस, सर्लाही | ४० |
| ११. | सुकुना बहुमुखी क्याम्पस, मोरङ | ४० |
| १२. | त्रियुगा जनता बहुमुखी क्याम्पस, उदयपुर | ४० |
| १३. | जनमैत्री बहुमुखी क्याम्पस, काठमाडाैं | ४० |
| १४. | काभ्रे बहुमुखी क्याम्पस , काभ्रे | ४० |
| १५. | विरेन्द्र मल्टिपल क्याम्पस, चितवन | ४० |
| १७. | गोरखा क्याम्पस, गोरखा | ४० |
यस्ताे छ पाठ्यक्रम
ICT-Education_IIपछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
