काठमाडाैं । चीनले आफ्नो देशको प्रमुख प्रविधि कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाउने जोय बिडेन प्रशासन प्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ । उसले अमेरिकालाई ‘विश्वास गर्न तथा भर पर्न नसकिने देश’ भनेको छ ।
यसअघि नै निर्यात लाइसेन्स पाइसकेका ह्वावेका सप्लायरहरुलाई अमेरिकाले शर्तहरुमाथि थप कडाई गरेको जानकारी दिएको छ । जसमा फाइभजीमा तथा फाइभजी डिभाइसमा प्रयोग हुने सामग्री ह्वावेलाई बिक्री गर्न रोक लगाइएको छ । यो नयाँ प्रतिबन्ध यही साताबाट लागु हुनेछ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले शुक्रबारको नियमित प्रेस ब्रिफिङका क्रममा यसले अमेरिका र चीन दुवैलाई चोट पुर्याउने बताए ।
‘यसले दुई देश तथा समग्रमा विश्वलाई नै प्रविधि तथा ब्यापारको आदान प्रदानमा निकै ठूलो बाधा उत्पन्न गराउनेछ । साथै यसले विश्वकै औद्योगिक श्रृङ्खला तथा आपूर्ति श्रृङ्खलालाई अवमूल्यन गर्नेछ,’ जाओले भनेका छन्, ‘अमेरिकाले तत्कालै चिनियाँ कम्पनीहरुमाथिको दमन बन्द गर्न आवश्यक छ र चिनियाँ कम्पनीलाई विभेदरहित रुपमा उचित व्यवहार गर्न जरुरी छ ।’
अमेरिकाले ह्वावेका केही सप्लायरको फाइभजी लाइसेन्सलाई थप सीमित गरेको हो । चीनमा सूचीकृत टेलिकम उपकरण फाइबरहोम टेलिकम्युनिकेसन टेक्नोलोजिज को र शेन्नन सर्किट को जस्ता कम्पनीको स्टक शुक्रबार १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
अमेरिकाले ह्वावेको लागि फाइभजी डिभाइसका लागि सेमिकण्डक्टर, एन्टेना र ब्याट्री निर्यातमा थप कडा किसिमको रोक लगाएको छ ।
यसअघि पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ टेलिकम कम्पनीका लागि प्रविधि तथा बौद्धिक सम्पत्ति बिक्री गर्न अमेरिकी कम्पनीले सरकारबाट लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको थियो । अमेरिकी अधिकारीहरुले ह्वावेबाट राष्ट्रिय सुरक्षामा जोखिम रहेको विश्लेषण गर्दै आएका छन् ।