काठमाडौं । चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेल ‘रुटिने’ ले नेपाली पब्जी टिम डीआरएस (द रियल सोल्जर) को स्वामित्व खरिद गरेका छन् । क्लबको निश्चित शेयर सहित पौडेल डीआरएसमा जोडिएका हुन् ।
बिहीबार दिउँसो टिममा पौडेलको स्वामित्व घोषणा सहित खेलाडीसँग हस्ताक्षर कार्यक्रम राखिएको छ । पौडेल डीआरएसका सह लगानीकर्ता तथा सीईओको रुपमा रहनेछन् ।
डीआरएस अशेष राई र रिजन खत्रीले स्थापना गरेको पब्जी टिम हो । उनीहरुको समेत टिममा निश्चित प्रतिशत स्वामित्व रहेको छ ।
नेपालको गेमिङ क्षेत्रमा खेलाडीहरुलाई प्रोत्साहन गर्ने कार्यमा अशेष र रिजनको नाम अग्र पंतिमा आउँछ । अनलाइन गेमिङको क्षेत्रमा सहकार्यका लागि डीआरएसमा पौडेल समेत जोडिएका हुन् ।
हालै पब्जी मोबाइल ग्लोबल च्याम्पियन्समा सहभागी भइसकेको डीआरएस नेपालकै मूख्य पब्जी टिम हो । टिममा चार जना खेलाडी यस अघिकै रहेका छन् भने एक जना नयाँ खेलाडीलाई अनुबन्ध गरिने बताइएको छ । टिममा भिक्टर पौडेलको स्वामित्व कति प्रतिशत हो भन्ने कुरा भने स्पष्ट रुपमा खुलाइएको छैन ।
डीआरएस हाल साउथ एसियन चरणको खेलको तयारीमा रहेको छ । यस अघि राष्ट्रिय स्तरमा विजेता बन्दै डीआरएस साउथ एसियन चरणमा दोस्रो भएको थियो । त्यसपछिको ग्लोबल च्याम्पियनमा भने टोली २० औं स्थानमा परेको थियो ।
टिमका खेलाडीहरुमा माफिया निञ्जा (युगेन लामा), एजे (अजय श्रेष्ठ), निमा (निमा तामाङ), ग्याल्जेन (पेम्बा ग्याल्जेन लामा), एमआरबोरो (अञ्जन राई) रहेका छन् । एमआरबोरो भने टिममा नयाँ खेलाडीको रुपमा आवद्ध भएका छन् । उनले टिमबाट खेल्न समेत सुरु गरिसकेको बताइएको छ ।
खेलाडीहरुलाई मासिक रुपमा पारिश्रमिक दिनुका साथै बुटक्याम्पमा बस्दाको खाने बस्ने सबै जिम्मेवारी व्यवस्थापनको हुनेछ । त्यस बाहेक खेलबाट प्राप्त पुरस्कार राशी भने खेलाडी सहित व्यवस्थापन टोलीबीच बाँड्ने आन्तरिक सहमति भएको बताइएको छ ।