close

साइबर सेक्युरिटी ल्याब स्थापना गर्दै प्राधिकरण

टेकपाना टेकपाना

चैत ५, २०७७ १३:१८

साइबर सेक्युरिटी ल्याब स्थापना गर्दै प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षासँग सम्बन्धित अध्ययन-अनुसन्धानका लागि ल्याब स्थापना गर्ने भएको छ । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार अन्तर्राष्ट्रिय रुपमा आशय पत्र माग गरेको हो ।

साइबर सुरक्षासँग सम्बन्धित विज्ञ नेपालको परिवेशमा एकदमै कम भएकाले भोलिका दिनमा यो क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने याेजना प्राधिकरणको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा प्राधिकरणले यो परियोजना अघि बढाएको हो ।

प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाका अनुसार यो परियोजनाकाे उद्देश्य नेपालको हकमा साइबर सुरक्षासम्बन्धी तालिम दिने ल्याब खोल्नु रहेकाे छ । जहाँबाट साइबर सुरक्षासँग सम्बन्धी घटनाको अध्ययनका साथै प्राधिकरणसँगै अन्य सरकारी संस्था लगायतका निकायका प्रतिनिधिलाई आवश्यक तालिन दिन सकिन्छ ।

‘त्यसैका लागि प्राधिकरणले अहिले पहिलो चरणमा अन्तर्राष्ट्रिय रुपमा आशय पत्र माग गरेको हो’, निर्देशक हाडाले भने, ‘नेपालमा प्राधिरणले अघि बढाएको योजनाअनुसार आवश्यक पूर्वाधार, म्यानपावर सहितका संस्था नभएकाले अन्तर्राष्ट्रियरुपमा आशय पत्र माग गरिएको छ ।’

यसमा आएको आवेदनका आधारमा प्राधिकरणले आवेदनका अध्ययन गरी कम्पनी शर्ट लिस्ट गर्नेछ । भने, उक्त शर्ट लिस्टमा परेका कम्पनीहरुसँग आरएफपी जारी गरेर उनीहरुसँग आर्थिक र प्राविधिक पस्ताव माग गरिने हाडा बताउँछन् ।

उनका अनुसार त्यसरी आएको आर्थिक र प्राविधिक प्रस्तावको अध्ययनपछि प्राधिकरणले कुनै एक कम्पनीलाई यसको जिम्मा दिनेछ । उक्त कम्पनीले प्राधिकरणले चाबहिलमा रहेको आफ्नो भवनमा ठाउँ उपलब्ध गराउने छ ।

जहाँ छनोट भएको कम्पनीले ल्याब स्थापना गर्ने, सफ्टवेयर इन्स्टल गर्ने, उनीहरुको म्यानपावर राखी तालिम दिने लगायतका काम गर्ने छन् ।

प्राधिकरणले माग गरेको आशय पत्र अनुसार उक्त कम्पनीले म्यानपावरको रुपमा एकजना प्राेजेक्ट म्यानेजर, एसिस्टेन्ट प्राेजेक्ट म्यानेजर, सिस्टम डिजाइनर ४ जना, नेटवर्क इन्जिनियर ४ जना, सफ्टवेयर डेभलपर १ जना र तालिम दिन विज्ञसहितको टिम तयार पार्नुपर्ने छ ।

उक्त ल्याबमा ह्याकिङका घटनाको अध्ययनका लागि आवश्यक सफ्टवेयर, ल्याब सम्पूर्ण हुनेछ । भने, तालिम विज्ञले सुरुमा प्राधिकरण, विभिन्न सरकारी निकायका प्रतिनिधि र त्यसपछि विभिन्न विश्व विद्यालयका विद्यार्थीहरुलाई तालिम दिनेछ ।

यसरी तालिमप्राप्त व्यक्तिले भोलिका दिनमा अन्य व्यक्तिलाई तालिम दिनेछन् । यसले साइबर सुरक्षासँग सम्बन्धित दक्ष जनशक्तिको विकास गर्न मद्दत पुर्‍याउने निर्देशक हाडा बताउँछन् । यसका लागि प्राधिकरणले चाल आव २०७७/०७८ को बजेटमा २० करोड बजेट छुट्याएको थियो ।

यही आवमा कार्यक्रम सम्पन्न गर्ने योजना भएता पनि सुरुका दिनका कोरोनाका कारण अध्ययन लगायतका काममा ढिलाई हुँदा आगामी आर्थिक वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्न तालिम नै सुरु भइसक्ने हाडा बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१