close

टेलिकमको सञ्चालक समिति सदस्यमा अम्बिकाप्रसाद पौडेल निर्विरोध

टेकपाना टेकपाना

चैत ५, २०७७ १५:५७

टेलिकमको सञ्चालक समिति सदस्यमा अम्बिकाप्रसाद पौडेल निर्विरोध

काठमाडौं । अम्बिकाप्रसाद पौडेल सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् । पब्लिक शेयरधनीहरुको तर्फबाट पौडेललाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरिएकाे हो ।

पौडेलले यही चैत ५ गते कम्पनीको सञ्चालक समिति सदस्यका लागि उम्मेदवारी दिएका थिए । स्थिर सम्पत्तिको हिसाबले नेपालको सबैभन्दा धनी कम्पनीको रुपमा रहेको नेपाल टेलिकमले आफ्नो पूँजी, सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सही किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबै भन्दा बढी राजश्व दिनसक्ने पौडेलले बताए ।

‘कर्मचारीहरुलाई सबैभन्दा बढी बोनस दिने र लगानीकर्ताहरुलाई सबै भन्दा बढी प्रतिफल दिने  र पूँजीबजारको सबैभन्दा उत्कृष्ट सूचिकृत कम्पनी हुन सक्ने सम्भावना छ,’ उनले भने,

‘अब टेलिकममा संचालकको रूपमा व्यवस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालकबीच समन्वय गर्दै मेरो लगानी सम्बन्धि ज्ञान, अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक,  उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई दिने प्रतिफलमा समेत अब्बल बनाउन समन्वयकारी भूमिका निभाउने मेरो प्रतिवद्धता छ ।’

टेलिकममा नेपाल सरकारको शेयर पूँजी ९१.४९ प्रतिशत छ । त्यस्तै नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारणको ८.४८ प्रतिशत रहेको छ । उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमका सभापति पौडेल नेपाल शेयर मार्केटका पुराना अनुभवी खेलाडी हुन् ।

नेपाल इन्भेष्टमेन्ट फोरमको पूर्वअध्यक्ष रहिसकेका उनको हाथवे इन्भेष्टमेन्ट प्रालि नामक छुट्टै कम्पनीसमेत रहेको छ । १५ अर्ब चुक्ता पूँजी भएको नेपाल दूरसञ्चार कम्पनीको असार मसान्त सम्मको  सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१