close

रिचार्ज कार्डको पिन नम्बर मेटियो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत १३, २०७७ १२:५०

रिचार्ज कार्डको पिन नम्बर मेटियो ? यसो गर्नुहोस्

काठमाडाैं । कोट्याउने क्रममा नेपालकाे टेलिकमकाे रिचार्ज कार्डकाे पिन नम्बर मेटिन सक्छ । यस्ताे अवस्थामा टेलिकमले आफ्ना प्रयोगकर्तालाई सहजरुपमा रिचार्ज गर्न सक्ने सुविधा दिइरहेकाे छ ।

यसअनुसार रिचार्ज कार्डमा मेटिएर ६ वटा मात्रै पिन नम्बर बाँकी रहेको अवस्थामा पनि रिचार्ज गर्न सकिन्छ । यसअघि रिचार्ज कार्डको पिन नम्बर मेटिएमा कार्ड साट्न कम्पनीको काउण्टरमै पुग्नु पर्ने बाध्यता थियो ।

कसरी गर्ने ?

त्यसका लागि सुरुमा नेपाल टेलिकमको वेबसाइट मा जानुहाेस् । त्यहाँ क्विक लिंकभित्र ‘पिन रिकभरी‘ अप्सन दिइएको छ ।

उक्त अप्सनमा गएर त्यहाँ मागिएको तथ्याङ्क भरी आफ्नो मोबाइल रिचार्ज गर्न सक्नुहुनेछ । त्यसका लागि कार्डको सिरियल नम्बर भने आवश्यक हुन्छ ।

ग्राहकले वेबसाइटमा गएर रिचार्ज कार्डको सिरियल नम्बर, १६ अंकको रिचार्ज कार्डको पिनमध्ये बाँकी रहेको (कम्पीमा ६ वटा) पीन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्नेछ । देखिएको पिन नम्बरलाई कार्डमा उपलब्ध गराइएको क्रमसँगै राख्नुपर्ने हुन्छ ।

अर्थात मेटिएको अंकमा ‘एक्स’ चिन्न राख्ने र अन्य बाँकी जस्ताको तस्तै उल्लेख गर्नुहोस् । जस्तो पीन नम्बरको ढाँचा ०९८७६५४३२११२३४५६ रहेकाे छ र त्यसको बीचका केही अंकहरु मेटिएको छन् भने, त्यहि अनुसार ०९८xx५४३x११xx२३xx५६ रुपमा राख्नु पर्ने हुन्छ ।

अनलाइनबाट यसरी बढीमा १० पटकसम्म प्रयास गर्न सकिने सुविधा कम्पनीले दिएको छ । १० पटकसम्म प्रयास गर्दा समेत नभएको खण्डमा भने कार्ड लिएर कम्पनीको काउन्टरमै पुग्नुपर्ने टेलिकमले जनाएको छ ।

याे सुविधाबाट ग्राहकले घरमै बसी आफूलाई परेको समस्याको समधान गर्नसक्ने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१