close

मोबाइल किन्दै हुनुहुन्छ ? थाहा पाउनुहाेस् दीपक मल्होत्राका ५ टिप्स

टेकपाना टेकपाना

चैत १४, २०७७ १०:३८

मोबाइल किन्दै हुनुहुन्छ ? थाहा पाउनुहाेस् दीपक मल्होत्राका ५ टिप्स

काठमाडौं । अहिलेको समयमा समाचार, सूचना, सञ्चार, मनोरञ्जन, दैनिक कामकाज, सिकाई जस्ता महत्वपूर्ण काम मोबाइलबाटै हुने भइसकेको छ । त्यसैले त मोबाइलको प्रयोग विश्वव्यापी रुपमा एकदमै बढेको छ ।

मोबाइलको पहुँचसँगै यसमा व्यतित गर्ने समय पनि बढ्दो छ । एकछिन सोच्नुहोस् त, तपाईंले दैनिक आफ्नो कति समय मोबाइलमा खर्च गरिरहनु भएको छ ? हो, पक्कै पनि तपाईंले आफ्नो महत्वपूर्ण समय मोबाइलमै बिताइरहनु भएको छ ।

यस्तोमा आफूले लामो समय बिताउने मोबाइल खरिदको विषय कत्तिको महत्वपूर्ण छ त ? मोबाइल जस्तो भएपनि हुने हो अथवा आफ्नो व्यवसाय र रोजगारी अनुसारको सुहाउने कस्ताे मोबाइलको आवश्यक्ता पर्छ त ?

हामीले यो विषयमा नेपालमा मोबाइल म्यानको रुपमा परिचित व्यवसायी दीपक मल्होत्रासँग जवाफ खोज्ने प्रयास गरेका छौं । प्रविधिमा रुचि राख्ने व्यवसायी मल्होत्रा मोबाइल व्यवसायीका साथै मोबाइल फोन इम्पोटर्स एसोसिएसन (एमपीआईए) को अध्यक्ष पनि हुन् ।

उनी मोबाइलसँग यति रमाउँछन कि हरेक नयाँ मोबाइलमा भएका फिचरहरुलाई केलाएर त्यसबाट प्रतिफल खोतली रहेका हुन्छन् । यस्तोमा उनको मोबाइल अनुभव सबैको लागि एउटा सिकाइ हुनसक्छ् । त्यसैले यहाँ मल्होत्राको अनुभवबाट आएको मोबाइल खरिदका लागि ध्यान दिनु पर्ने पाँच महत्वपूर्ण पक्ष उल्लेख गर्दैछौं ।

१. मोबाइल हाम्रो दैनिकसँग जोडिएको छ । त्यसैले पहिलो कुरा तपाईं के का लागि मोबाइल खरिद गर्दै हुनुहुन्छ, त्यो निर्धारण गर्न आवश्यक छ । यदि मोबाइल फोन उठाउन र फोन गर्न मात्रै हो भने सामान्य मोबाइलमात्रै पनि उपयुक्त हुन्छ ।

तर, यदि माबोइलबाटै तपाईं अफिसको काम गर्नुहुन्छ, तपाईं आफूलाई मोबाइलबाटै नियन्त्रर्ण गर्नुहुन्छ भने त्यस्तोमा अलि उच्च क्षमताको मोबाइल बोक्नुपर्ने आवश्यक हुन्छ । त्यसैले सुरुमा मोबाइलको आवश्यक्ता निर्धाण गर्नुहोस् ।

२. दोस्रो भनेको मूल्य हो । मूल्य तपाईंको बजेटसँग निर्भर रहन्छ । तपाईं सोखको लागिमात्रै मोबाइल किन्दै हुनुहुन्छ भने उक्त मोबाइलमा खर्च गर्दा त्यसले तपाईंको भोलिलाई असर गर्छ, गर्दैन सोच्न आवश्यक छ ।

यसको अर्थ आज अनावश्यक मोबाइलमा खर्च गर्दा त्यसले भोली तपाईंको दैनिकिमै असर त पर्दैन भन्ने हो ? यो सोच्न आवश्यक छ । तर, यदि मोबाइलबाटै तपाईं आम्दानी गर्नुहन्छ र मोबाइल नै तपाईंको दैनिकसँग जोडिएको छ भने त्यो मोबाइल किन्दा आफूलाई भोलि हुनसक्ने प्रतिफल सोचेर त्यही अनुसारको मूल्य निर्धारण गर्न सकिन्छ ।

३. तेस्रो, मोबाइलमा भएका फिचर हुन् । मूल निर्धारण भएसँगै त्यो मूल्यभित्र कुन ब्राण्डको मोबाइल लिने र आफ्नो बजेट भित्र कुन मोबाइलमा कस्ता फिचर छन भनेर अध्ययन गर्नु पर्नेहुन्छ । मोबाइल किन्दा ब्राण्डेड किन्नु नै सबैभन्दा राम्रो हो ।

मोबाइलमा कति जीबी र्‍याम छ ? कति स्टोरेज क्षमता छ ? कुन प्रोसेसर रहेको छ ? कती मेगापिक्सेलको क्यामेरा रहेको छ ? क्यामेरा क्वालिटी कस्तो छ ? यी विषय हेर्न आवश्यक छ । यदी तपाईं मोबाइलबाटै काम गर्ने हो भने धेरै र्‍याम, धेरै स्टोरेज क्षमता, पछिल्लो प्रोसेसर प्रयोग भएको मोबाइल किन्दा राम्रो हुन्छ ।

तर, यदी तपाई मोबाइल क्यामेराको लागि किन्दै हुनुहुन्छ भने मोबाइलमा प्रयोग भएको क्यामेराको मेगाक्सिेल, लेन्स, अपाचर लगायतका विषयलाई हेर्न आवश्यक हुन्छ । सँगै मोबाइलमा रहेको ब्याट्रीको पनि सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

जती धेरै क्षमताको ब्याट्री भयो त्यती नै धेरै टिक्ने भएकाले यो विषय ध्यान दिन जरुरी छ । डिजाइन, कलर भन्ने विषयले तपाईंको इमेज दर्शाउने भएकाले त्यस्ता विषयलाई पनि ध्यान दिँदा राम्रो हुन्छ ।

४. सबैभन्दा महत्वूर्ण मोबाइल कहाँ किन्न भन्ने हो । किनभने मोबाइल किन्नु भनेको तपाईंको कमाइको केही अंश खर्च गर्नु हो । त्यस्तोमा मोबाइल किन्दा जहाँ पायो, त्यहीबाटै किन्नु त्यति फलदायी नहुन सक्छ ।

नेपालमा अवैध मोबालको आयात ठूलोमात्रामा हुने भएकाले तपाईं त्यस्ता मोबाइलमा पर्न सक्नुहुन्छ । त्यसैले मोबाइल किन्दा सकेसम्म कुन ब्राण्डको किन्ने हो उक्त ब्राण्डको आधिकारिक स्टोर तथा शोरुमबाट खरिद गर्दा सबैभन्दा राम्रो हुनेछ । त्यो भएको खण्डमा तपाईंको मोबाइल बिग्रिएको खण्डमा वारेन्टीका साथै मर्मतको सुविधा पनि उपलब्ध हुनेछ ।

५. नेपालमा मोबाइल किन्दा सबैभन्दा महत्वपूर्ण भनेको भ्याट बिल र मोबाइलमा टाँसिएको स्टिकर हेर्न आवश्यक छ । यसको अर्थ तपाईंले मोबाइल किन्दा पसलेसँग भ्याटबिलसहित माग्नुभयो एकातर्फ तपाईले मोबाइलमा खर्च गर्नुभएको केही अंश सरकारले पाउने छ ।

त्योभन्दा पनि महत्वपूर्ण कुरा व्यापारीले पनि तपाईंले आधिकारिक रुपमा भित्रिएको मोबाइल उपलब्ध गराउने सक्ने सम्भावना उच्च रहन्छ । सँगै मोबाइल किन्दा मोबाइलको सिट प्याक छ वा छैन भनी हेर्न आवश्यक छ ।

यदि सिल तोडिएको अवस्थामा मोबाइल उपलब्ध भएको खण्डमा मोबाइल खरिद नगर्नुहोस् । नेपालमा अवैध रुपमा भित्रिने मोबाइल बढेकाले मोबाइल खरिद गर्दा मोबाइलको बक्समा कम्पनीको होलोग्राम (स्टिकर) टाँसिएको छ कि छैन, त्यो पनि हेर्न आवश्यक छ ।

साथै अवैध मोबाइलको कारोबारलाई रोक्न एमपीआईएमा सहभागी १२–१३ ब्राण्डले अहिले एमपीआईएको पनि होलोग्राम प्रयोग गर्न थालेको छ । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा मोबाइलको बक्समा एमपीआईएको होलोग्राम छ कि छैन भनेर हेर्न आवश्यक हुन्छ ।

यदि यस्ता कुरामा ध्यान दिएको खण्डमा तपाईंको मोबाइलमा भएको लगानी सुरक्षित तथा प्रभावकारी हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१